☰ open Loading... 23 October 2019|   बुधबार, कार्तिक ६, २०७६

पहिरोले कुलो भत्किएपछि कृषक मर्कामा

  |

बाबुबाजेको पालादेखि प्रयोग गर्दै आएको सिँचाइ कुलो पहिरोले बगाएपछि त्रिपुरासुन्दरी नगरपालिका–१ गल्लीका किसान मर्कामा परेका छन् । गल्ली गाउँनजिकै पर्ने भलखोलास्थित मूल सिँचाइ कुलो पहिरोले बगाएको हो । करिब ३६ मिटर कुलो पहिरोले बगाएपछि गल्ली र त्रिपुराकोटका ४६ घरधुरी सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।

माथिबाट पहिरो खसेर सिँचाइ कुलो अवरुद्ध भएपछि सिँचाइ प्रणाली नै अवरुद्ध भएको हो । गाउँभरिकै किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । दुई साताअघि पहिरोले अवरुद्ध भएको सिँचाइ कुलो अझै निर्माण हुन सकेको छैन । गाउँलेले पाइप र जस्तापाता हालेर अस्थायी रूपमा पानी ल्याउने प्रयास गरे पनि सफल भएको छैन ।

सिँचाइ नहुँदा उत्पादन घट्ने चिन्ता
सिँचाइ कुलो भत्किँदा ज्युला क्षेत्रमा लगाइएको धान, मकै, सिमीलगायतका अन्नबाली सुक्न थालेका छन् । ‘कुलो निर्माण गर्न गाउँलेसँग आर्थिक स्रोत छैन,’ स्थानीय तुलराम शाहीले भने, ‘सिँचाइ कुला निर्माण हुन नसके ज्युला क्षेत्रमा यस वर्ष खाद्यान्न उत्पादन घट्नेछ ।’ कुलो धेरै भत्केकाले ढुंगामाटोको प्रयोगले मात्र निर्माण हुन सक्ने अवस्था नरहेको उनले बताए । ‘कुलो निर्माणमा सिमेन्ट, छड नै प्रयोग गर्नुपर्ने अवस्था छ,’ शाहीले भने, ‘कुलो निर्माण गर्न हामीले नगरपालिकालाई आग्रह गरेका छौँ ।’

मर्मतमा आठ लाख लाग्ने
अन्य बालीभन्दा पनि पानीको अभावले धान खेतमै धान सुक्न थालेको स्थानीय डल्ले कुलालले बताए । भत्किएको कुलो मर्मतका लागि वडा कार्यालयसँग बजेट नभएको वडा नम्बर १ का अध्यक्ष कर्मसिंह थापाले बताए । कुलो मर्मतका लागि आफूले आठ लाख रुपैयाँ बराबरको स्टेमेट बनाएर नगरपालिकामा बुझाएको उनको भनाइ छ । नयाँ बजेट कार्यान्वयनमा नआई सिँचाइ कुलो मर्मतका लागि सहयोग गर्न नसकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, असार २२, २०७६     4:36:46 PM
error: Content is protected !!