युवालाई कृषिमा आकर्षित गर्न कालिकोटको शुभकालिका गाउँपालिकाले भत्ता दिने कार्यक्रम ल्याएको छ । युवालाई गाउँमै स्वरोजगार बनाउन मासिक दुई हजार रुपैयाँसम्म भत्ता दिने भएको हो । गाउँपालिकाले ०७६/७७ को नीति तथा कार्यक्रममा युवा उद्यमीलाई मासिक भत्ता दिने व्यवस्था गरेको हो । यसले गाउँमै रोजगारी सिर्जना हुने र युवा कृषिमा आकर्षित हुने गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । ‘युवालाई गाउँमा नै रोजगारी दिने लक्ष्य राखेका छौँ । यसका लागि गाउँमै युवालाई काम गर्न प्रेरित गर्न भत्ताको कार्यक्रम ल्याएका हौँ,’ अध्यक्ष चौलागाईंले भने ।
भत्ता पाउनका लागि गाउँपालिकाले केही सर्त राखेको छ । ३० भेडा वा ५० बाख्रा वा दुइटा भैँसी पाल्ने युवा कृषकले मासिक एक हजार भत्ता पाउनेछन् । त्यस्तै, ४० भेडा वा ६० भन्दा बढी बाख्रा वा तीनवटाभन्दा बढी भैँसी पाल्ने युवा कृषकले मासिक दुई हजार भत्ता पाउनेछन् । यससँगै युवा किसानलाई उन्नत जातका पशुपंक्षी पनि वितरण गरिने गाउँपालिकाले जनाएको छ । ‘उन्नत जातका थुमा, बाख्रा, राँगा दिन्छौँ,’ अध्यक्ष चौलागाईंले भने, ‘हामीले युवालाई गाउँमै कृषि उद्यम गराउन खोजेका हौँ ।’
२१ वर्षपछि बिहे गर्दा पाँच हजार पुरस्कार
गाउँपालिकाले बालविवाह रोक्न पनि नयाँ कार्यक्रम ल्याएको छ । यसका लागि उमेर पुगेपछि बिहे गर्ने किशोरीलाई पुरस्कृत गर्ने भएको छ । २१ वर्ष उमेर पुगेपछि बिहे गर्ने किशोरीलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको अध्यक्ष चौलागाईंले बताए । ‘यसले बालविवाह अन्त्य गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ,’ उनले भने । गाउँपालिकाले बालविवाह अन्त्य गर्ने लक्ष्यसहित अन्य कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।
जनतासँग अध्यक्ष कार्यक्रम
शुभकालिका गाउँपालिकाले गरिब, विपन्न परिवारलाई राहत दिन तथा सरकारी सेवाको पहुँचमा ल्याउन ‘जनतासँग अध्यक्ष’ कार्यक्रम ल्याएको छ । स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, गरिब, घरविहीनका लागि जनता आवास कार्यक्रम, कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत फलफूलका बिरुवा वितरणलगायतका कार्यक्रम पनि अघि सारिएको छ । यो सबैका लागि गाउँपालिकाले ३९ करोड ३८ लाख ७५ हजार नौ सय ८८ रुपैयाँको बजेट ल्याएको छ । कृषि, यातायात, स्वास्थ्य, शिक्षा, लक्षित समूह र बेरोजगार युवा रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको उपाध्यक्ष पम्फाकुमारी शाहीले बताइन् ।