सुर्खेत । कर्णाली प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७६ र ०७७ को बजेट बहुमतले पारित भएको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा प्रस्तुत गर्नुभएको बजेट आज बसेको कर्णाली प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।
बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश हुँदा विपक्षमा आवाज नआएपछि सभामुख राजबहादुर शाहीले सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । प्रदेशसभा बैठकमा मन्त्री ज्वालाले पेस गरेको विनियोजन विधेयक मन्त्रालयगत रुपमा छलफल भएको थियो ।
आईतबारको बैठकमा मन्त्री ज्वालाले बजेटमाथि सांसदले उठान गरेका विषयका बारेमा जवाफ दिनुभएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६ र ७७ का लागि ३४ अर्ब ३५ करोडको बजेट ल्याएको थियो ।
विनियोजित बजेट मध्य चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पूँजिगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रहेको छ । संसद बैठक अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएकाे छ ।