दैलेख, महावु गाउँपालिकाले यो नयाँ आर्थिक वर्षभित्र नयाँ सुविधासम्पन्न १५ शैयाको अस्पताल स्थापना गर्ने तयारी गरेको छ । नयाँ अस्पतालका लागि निति तथा कार्यक्रममा समावेश गरेको हो ।
नयाँ अस्पताल खोल्नका लागि गाउँपालिकाबाट १ करोड रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । ‘आवश्यक अनुसार अरु बजेट पनि अस्पतालका लागि छुट्याउने छौं ।’ अध्यक्ष शाहीले भने, कार्यविधि तत्काल बनाउने र स्वास्थ्य जनशक्तिदेखी औजार खरिद गरि अस्पतालबाट सेवा सुरु गर्नेछौं ।’
अहिले गाउँपालिकाले अस्पताल स्थापनाका लागि आर्थिक वर्ष २०७६÷०७७ बाट १ करोड रकम छुट्याएको छ । गाउँपालिकाका अनुसार यो वर्ष संचालनका लागि पूर्वाधार निर्माण, औजार खरिद र कर्मचारी ब्यवस्थापनसहित अस्पतालको उद्घाटन हुने जनाईएको छ । त्यस्तै गाउँपालिकाले संञ्चालनमा ल्याएको सामुदायिक स्वास्थ्य ईकाइमा स्वास्थ्यकर्मी ब्यवस्थापन गरि आगामी आर्थिक वर्षमै बर्थिग सेन्टर स्थापना गर्ने गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी बुढाले बताईन् ।
‘सुरक्षित प्रसुती गृह गाउँमै होस् भनेर बर्थिग सेन्टर स्थापना गर्न लागेको हो ।’ उपाध्यक्ष बुढाले भनिन् ः कुनैपनि गर्भवती महिलाहरु असुरक्षित बच्चा जन्माउनु पर्दैन् । गाउँपालिकाले सुरक्षित बच्चा जन्माउनका लागि पूर्वाधार सहित स्वास्थ्यकर्मी गाउँमै पठाउँछौं ।’ सामुदायिक स्वास्थ्य ईकाइमै भवन नयाँ बनाउने तथा बनेका भवनहरु मर्मत गरेर बर्थिग सेन्टर बनाउने उद्देश्य गाउँपालिकाले लिई आफ्नो निति कार्यक्रम तथा बजेटमा समावेश गरेको हो ।
गाउँपालिकाले पालिका स्तरमा अस्पताल बनाउने देखी वडामा रहेको स्वास्थ्य संस्थाहरुमा पूर्वाधार र स्वास्थ्यकर्मी ब्यवस्थापनमा लागेको महावु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले बताए ।
त्यस्तै गाउँपालिकाले साँझेदारमा सडक बनाउने योजना अनुदार यो वर्ष तारागाड, गैडाबाज हुँदै काँशिकाँध जाने सडकका लागि ८० लाख रकम विनियोजन गरेको छ । जसमा कर्णाली प्रदेश सरकारले ६० प्रतिशत रकम हाल्ने गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । पर्यटकिय क्षेत्र महावु, महावै काँध काशिकाँधलाई संरक्षणका लागि कार्यक्रम गाउँपालिकाले बनाएको छ । त्यस्तै खानेपानी, शिक्षा, सिचाईमा पनि बजेट विनियोजन गरेको छ ।
काशिकाँधमा ब्यवस्थित मन्दिर निर्माणका लागि क्रमागत रुपमा गाउँपालिकाले बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सडक स्तरउन्नतीका लागि बजेटमा जोड दिएको छ । प्रत्येक वडामा १ करोडदेखी १ करोड ५० लाखसम्म बजेट विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर मल्लले बताए । आर्थिक वर्षभित्रै महावु गाउँपालिकाका हरेक वडामा विद्यूतीकरण पुगीसक्ने गाउँपालिकाका अध्यक्ष शाहीले बताए । अहिले गाउँपालिकाका केही वडा र मुकामसम्म विद्युतिकरण गत आर्थिक वर्षमा जोडिएको हो ।
महावु गाउँपालिकामा ३४ करोड ३८ लाख २१ हजार ५ सय ९८ रकम बजेट सिलिगमा रहेर निति तथा कार्यक्रम बनाईएको छ । पुजीगतमा ११ करोड ७७ हजार ५ सय ४० रुपैँया रहेको छ । शर्सत अनुदान ११ करोड ४९ लाख, वित्तिय समानिकरणबाट ८ करोड २९ लाख र राजश्व बाडफाडबाट ६ करोड ७६ लाख रहेको छ । कर्णाली प्रदेश सरकारबाट वित्तिय समानिकरण १ करोड ९८ हजार र राजश्व बाँडफाँडबाट ५ लाख ३४ हजार रहेको छ । गाउँपालिकाकै आन्तरिक श्रोतबाट १८ लाख राजश्व उठने अनुमान गरिएको छ । शर्सत अनुदान विभिन्न संघसस्थाबाट प्राप्त १ करोड १० लाख रहेको छ भने ५ करोड ५० लाख सामाजिक सुरक्षा भत्ताका लागि रकम रहेको छ ।