☰ open Loading... 26 April 2024|  

भगवतीमाईले ‘शून्य पेस्की’ अभियान चलाउँदै
  | २ श्रावण २०७६, बिहीबार १८:३८

दैलेख, भगवतीमाई गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि शून्य पेस्की अभियान सञ्चालन गर्ने भएको छ । पेस्की लिएर काम नगर्ने परिपाटी बढेपछि ‘शून्य पेस्की’ अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

विकास निर्माण तथा अन्य योजनामा पेस्की लिने प्रचलन बन्द गर्न अभियानको थालनी गर्ने गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए । नयाँ आर्थिक वर्षदेखि पेस्की नदिइने र यसअघि लिएका पेस्की पनि फच्र्छोट गर्न लगाइने उनले बताए । यसबाट विकास निर्माण तथा अन्य योजना समयमै सम्पन्न गर्न सहयोग पुग्ने जनाएको छ । यसबाट ठेकेदार र उपभोक्ता समितिले पनि सयममै काम गर्न दबाब पुग्ने विश्वास लिइएको छ ।

यस्तै, श्रम बैंकमार्फत युवालाई रोजगारीको व्यवस्था गरिने भएको छ । यसका लागि श्रम रोजगार बैंकको कार्यविधि निर्माण गरेर गाउँसभाबाट पारित गरिसकिएको अध्यक्ष थापाले बताए । यसबाट १८ देखि ४० वर्षसम्मका बेरोजगारलाई विकास काममा परिचालन गरिनेछ ।