☰ open Loading... 18 November 2024|  

बिग्रिए सदरमुकामका सिसिक्यामेरा
  | २ श्रावण २०७६, बिहीबार १८:४१

आपराधिक घटना बढ्न थालेपछि नारायण नगरपालिकाको मुख्य बजारमा सिसिक्यामेरा जडान गरिएको थियो । तर, अहिले ती सिसिक्यामेरा भने बिग्रिएका छन् । दैलेख उद्योग वाणिज्य संघको पहलमा तीन वर्षअघि महत्वपूर्ण  स्थानमा नौ सिसिक्यामेरा जडान गरिएका थिए । नौ लाखमा जडान गरिएका सिसिक्यामेरा अहिले चल्न छोडेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैजसो क्यामेरा चलेका छैनन् ।

एक साताअघि दैलेख सदरमुकामबाट दिउँसै मोटरसाइकल चोरी भएपछि प्रहरीले अनुसन्धान गर्न सिसिक्यामेरामा ध्यान दिएको थियो । तर, सबै सिसिक्यामेरा नचलेको पाइएको एक प्रहरी अधिकृतले बताए । सिसिक्यामेरा मर्मतसम्भार गर्न प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय सरकारलाई आग्रह गरिएको भए पनि त्यत्तिकै रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए । ‘सडक दुर्घटना र अन्य आपराधिक घटनाको छानबिन र अनुसन्धान गर्न सहयोग पुग्छ भनेर पटकपटक जानकारी गराएको छु,’ उनले भने । सबै सिसिक्यामेरा करिब पाँच लाखमा मर्मत गर्न सकिने उनको भनाइ छ ।

सडकबत्ती पनि बन्द
त्यस्तै, ०७३ मा नगर उज्यालो कार्यक्रमअन्तर्गत नारायण नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक बत्ती जडान गरिएको थियो । सडक किनारमा राखिएका सोलार बत्ती बिग्रिएका छन् । सडक बत्ती र सोलारको रेखदेख नगर्दा बिग्रिएको स्थानीय बासिन्दाले बताए । नगरपालकासँग सडक बत्तीका विषयमा जानकारी गराए पनि वास्ता नगरेको स्थानीय बासिन्दाको भनाइ छ ।

नयाँपत्रिकाबाट