☰ open Loading... 3 May 2024|  

प्रयोगमै नरहेको यो पुलले गर्‍यो सरकारको ‘बदनामी’, भत्काउन निर्देशन
  | ५ श्रावण २०७६, आईतवार २१:२१

कालिकोट: जिल्लाको पलाँता गाउँपालिका ९ थिर्पुस्थित कर्णाली नदीमा रहेको काठ र जालीको जोखिमयुक्त पुल भत्काइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले चासो राखेपछि कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले उक्त प्रयोगविहीन पुल भत्काउन प्रहरीलाई निर्देशन दिएका हुन्।

लामो समयदेखि फलामको लठ्ठामा काठ र जाली जोडेर निकै जोखिमयुक्त पुलमा स्थानीयहरू आवतजावत गर्दै आएकोमा गत वर्ष उक्त ठाउँमा नयाँ झोलुङ्गे पुल सञ्चालनमा आएको थियो। तर तुइनसँग तुलना गरेर पुरानै पुलको फोटो सामाजिक सञ्चालमा चर्चामा आएपछि पुलको विषयमा प्रधानमन्त्री सचिवालयले चासो देखाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई टेलिफोन गरी पुलको अवस्था बुझेका थिए। ‘सरकारको बदनाम गर्न फोटो प्रयोग भएको’ भन्दै प्रयोगविहीन पुरानो पुल भत्काउन प्रहरीलाई निर्देशन दिइएको हो।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पुल भत्काउन स्टमेट बनाउन इलाका प्रहरी चौकी थिर्पुलाई निर्देशन दिइसकेको बताए। उनले तत्काल प्रयोगविहीन जोखिमयुक्त पुल भत्काइने बताए।

प्रजिअ कार्कीले भने, ‘कालिकोट तुइनमुक्त भइसकेको छ। प्रहरीमार्फत जिल्लाभरको सूचना लिएका छौँ।’

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विपनोद शर्माले थिर्पुस्थित कर्णाली नदीमाथि रहेको प्रयोगविहीन जोखिमयुक्त पुलमा मान्छे हिँड्न नमिल्ने बनाएको बताए। उनले भने, ‘निरन्तर वर्षा भएका कारण पुरै पुल भत्काउन सकिएको छैन। कसरी भत्काउने भनेर स्टमेट गरिँदैछ।’

उक्त पुल नजिकै अर्को सुरक्षित झोलुङगे पुल सञ्चालनमा रहेकाले जोखिमयुक्त पुल आसपासका भाग सबै भत्काइएको छ।

पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले पलाँताको थिर्पुमा एक वर्ष पहिले नै नयाँ झोलुङगे पुल सञ्चालनमा आइसकेको बताए। उनले सामाजिक सञ्जालमा हालेको जोखिमयुक्त पुलको फोटोबाट भ्रमित नहुन आग्रह गरे।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको तुइन विस्थापन अभियान अन्तर्गत पुल बनिसकेका ठाउँमा पुराना तुइन भत्काउन प्रधानमन्त्री कार्यालयबाट गृहमन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए। ‘गृहमन्त्रालयबाट गृह सचिवले पनि सबै जिल्लामा परिपत्र गरिसक्नुभएको छ। पुल बनिसकेको ठाँउमा पुराना तुइन भत्काउनुपर्छ’, उनले भने, ‘कालिकोटका प्रमुख जिल्ला अधिकारीलाई पनि पलाँताको जोखिमयुक्त पुल भत्काउन निर्देशन दिइसकिएको छ।’