☰ open Loading... 3 May 2024|  

दैलेखमा बस दुर्घटना एककाे मृत्यु, सात यात्रु घाइते
  | ७ श्रावण २०७६, मंगलवार ०९:४७

सुर्खेत-दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ राकम कर्णालीमा मंगलबार विहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ५ मालाचौर बस्ने अन्दाजी ३३ वर्षकी धृजा माझी रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पा्खरेलले जानकारी दिए ।

उनका अनुसार ना५ख ७२४३ नम्बरको गाडी चिप्लिएर दुर्घटना भएको हो । ‘बस मालाचौरदेखि राकम कर्णाली आएको र फेरि मालाचौर जान थालेको थियो,’ उनले भने, ‘नौ जना सवार मध्ये ती महिलालाई बस पल्टिदा च्यापेका कारण मृत्यु भएको हो ।’

तर बस भने जुम्ला देखि काठमाडौंका लागि छुटेको थियो । अरु थप यात्री लिनका लागि मालाचौर जान फर्कदा शेराबाडा नजिकै दुर्घटना भएको स्थानीय छत्र माझीले जानकारी दिए ।

दुर्घटनामा परेका अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीका सहायक इन्सपेक्टर विष्णु गिरीले जानकारी दिए । बाँकी ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको उनको भनाई छ ।