☰ open Loading... 16 November 2024|  

नौ महिनादेखि जुम्ला सदरमुकाम खलंगा अन्धकारमा
  | ७ श्रावण २०७६, मंगलवार १९:४५

जुम्ला, मेसिन बिग्रिएपछि नौ महिनादेखि अन्धकारमा रहेका जुम्लाका बासिन्दाले अझै विद्युत् नपाउने भएका छन् । विद्युत्गृहमा मेसिन जडान गर्दागर्दै बेरिङ भाँचिएपछि अनिश्चित बनेको छ ।  भारतीय दूतावासले सहयोग गरेपछि नौ महिनाअघि नयाँ मेसिन जडान गर्न सुरु गरिएको थियो । चलिरहेको आयोजना बन्द गरेर नयाँ मेसिन जडान गर्न थालिएको थियो ।

मेसिन जडान गर्दा आयोजना बन्द गर्नु परेपछि विद्युत् आपूर्ति पनि रोकिएको थियो । तर, नौ महिनासम्म मेसिन जडान हुन सकेको थिएन । अहिले आएर मेसिनको बेरिङ नै भाँचिएपछि अनिश्चित बनेको हो । निर्माण व्यवसायी लाल दुवईले जुम्ला छोडेका छन् । उनी बोलाउँदा पनि नआएको स्थानीय बासिन्दाले गुनासो गरे ।

मेसिनको बेरिङ भाँचिएपछि ठेकेदारले जुम्ला छोडेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढ्थापाले बताए । ‘स्थानीय बासिन्दाको डरले ठेकेदारले जुम्ला छाडेका छन्,’ अध्यक्ष बुढ्थापाले भने । ठेगेदारकोे सम्झौता मिति पनि सकिएको उनले बताए । सुरक्षा चुनौती देखाउँदै आउन नमानेपछि खलंगामा विद्युत् अनिश्चित भएको अध्यक्ष बुढ्थापाले बताए ।

स्थानीय बासिन्दाले विरोध गर्न थालेपछि आइतबार जिल्ला सदरमुकाममा सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकले पनि तत्काल बिजुली बल्ने सम्भावना नरहेको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्र महतको उपस्थितिमा बसेको बैठकले ठेगेदारलाई जुम्ला बोलाउने र मेसिन मर्मत गर्न लगाउने निर्णय गरेको जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले बताए । तत्काल ठेगेदार जुम्ला आएर काम गरे पनि कम्तीमा तीन महिना लाग्ने उनले बताए ।

भारतीय दूतावासले सहयोग गरेपछि नयाँ मेसिन जडानको काम पनि भारतीय कम्पनी पासी शुभकामना जेभी गेटालाई ठेक्का दिइएको थियो । भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार नौ सय थपेको थियो । नयाँ मेसिन जडानका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो । अहिले निर्माण कम्पनीले एक करोड ८६ लाख ८५ हजार तीन सय ४० रुपैयाँ भुक्तानी लिइसकेको छ ।

 २२ हजार उपभोक्ता मर्कामा
नयाँ मेसिन जडान गर्न आयोजना बन्द गरिएपछि नौ महिनादेखि खलंगाका २२ हजार उपभोक्ता मर्कामा परेका छन् । अझै पनि बत्ती आउने निश्चित नभएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । ठेगेदार र उपभोक्ता समिति मिलेर २२ हजार उपभोक्तामाथि अन्याय गरेको स्थानीय रतन खत्रीले गुनासो गरे ।

 प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले ब्रान्डेड मेसिन नभएका कारण नगरवासीले धोका खानुपरेको बताए । बीचमै गएकोे ठेकेदारलाई बोलाउने र नआएपछि कालोसूचीमा पार्ने, धरौटी जफत गर्ने, हदैसम्मको कारबाही गर्न पहल गर्ने उनले बताए । जिजस प्रमुख लालबहादुर सार्कीले ठेकेदारलाई केही दिनभित्र जिल्लामा ल्याउने आश्वासन दिए । ठेगेदार उम्कन नपाउने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बिजुलीको टेन्डर प्रक्रियाका विषयमा अख्तियारमा उजुरी परेको बताइन् । यसमा अख्तियारले छानबिन गरिरहेको उनको भनाइ थियो । ठेकेदारलाई सुरक्षा दिने र खलंगा उज्यालो बनाउने अभियानमा प्रशासन सघाउने उनले बताइन् ।