☰ open Loading... 16 November 2024|  

रतीखोलामा बाढीले सडकै बगायो आवागमन बन्द
  | ८ श्रावण २०७६, बुधबार १५:०४

सुशील खड्का
सुर्खेत । दैलेखको गुराँस गाउँपालिका अन्तरगत पर्ने रती खोलामा बाढीले सडक नै बगाएको छ । गएरातीदेखी परेको वर्षातका कारण सियाकोट–तल्लोडुंगेश्वर सडक खण्डमा पर्ने रती खोलामा बाढीले सडक नै बगाएको हो ।

(तस्वीर पत्रकार मदन विक)

याे पनि पढ्नुहाेस् : सुर्खेत उपत्यकाको तल्लो तटिय क्षेत्र डुवान


रती खोलामा आएको बाढीले सियाकोटतर्फको झण्डै पचास मिटर सडक बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । बाढीले सडक नै बगाएपछि सियाकोट भएर तल्लाडुंगश्वेरहुँदै दैलेखको पश्चिम क्षेत्र, अछाम, कालिकोट, मुगु र जुम्ला जाने सवारी आवतजावत ठप्प भएको छ ।

सुर्खेततर्फ आउने सवारी तल्लोडुंगेश्वर फर्केर कर्णाली राजमार्गको बड्डीचौरबाट पठाएको डिएसपी पोखरेलको भनाई छ । तर सुर्खेतबाट सियाकोट भएर जाने सवारी फिर्ता भइरहेको पोखरेलले उल्लेख गर्नुभयो ।

सडक खुलाउन डोजर नै पठाएपनि चट्टानका कारण भित्तातर्फ सडक खन्न नसकिएको प्रहरीले जनाएको छ । सुर्खेत–दैलेख सडक भएर कर्णाली राजमार्ग पुग्ने सियाकोट–तल्लोडुंगेश्वर सडक खण्ड ८ किलोमिटर छोटो दुरीको सडक हो । कर्णाली राजमार्ग भने सुचारु रहेको प्रहरीले जनाएको छ ।

वर्षातमा कर्णाली राजमार्गमा अवरुद्ध भएमा तत्काल सडक सुचारु गर्न सियाकोट, तल्लोडुंगेश्वर र राकमकर्णालीमा सडक विभागले डोजर तयारी अवस्थामा राखेको छ । वर्षातमा विपद्ले ठूलो क्षती निम्त्याउन सक्ने भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारसंग समन्वय गरिरहेको डिएसपी पोखरेलले बताउनुभयो ।