☰ open Loading... 15 November 2024|  

खलंगा नौ महिनादेखि विद्युत्विहीन
  | ९ श्रावण २०७६, बिहीबार १८:०९

जुम्ला । जुम्ला सदरमुकाम खलंगा विगत नौ महिनादेखि अन्धकारमय बनेको छ । खलंगावासी टुकीको भरमा गुजारा गरिरहेका छन् । विद्युत् बाल्ने जुम्लावासीको आशामा झनै निराशा थपिएको छ । घुँघुतीमा रहेको साना जनविद्युत् उपभोक्ता समितिको नयाँ मेसिनको जडान गरिहेका निर्माण व्यवसायी, भारतीय ठेगेदार लाल दुवई जुम्लाबाट भागेका छन् ।

नयाँ मेसिन जडान गर्दागर्दै मेसिनको बेरिङ भाँचिएपछि उनी भागेका हुन् । मेसिनको बरिङ नै भाँचिएपछि उनी भागेको साना जलविद्युत् तथा उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढथापाले जानकारी दिए । यसअघि भारतीय दूतावासको सहयोगमा नयाँ मेसिन जडान भइरहेको थियो । अब भने अनिश्चित कालका लागि विद्युत् बन्द भएको छ । यसमा झन्डै २२ हजार सेवाग्राही मर्कामा परेका छन् । ‘उनलाई बोलाउँदा पनि आउँदैनन’ अध्यक्ष बुढथापाले भने, ‘अब भने हामी कानुनी प्रक्रियामा जान्छौं ।’

व्यवसायी दुबईसँग गरिएको सम्झौताको म्यादसमेत सकिएको छ । उनका अनुसार सुरक्षाको कारण देखाउँदै फेरि जुम्ला आउन अटेरी गरिहेका छन् । स्थानीयको तीव्र विरोधका बीच प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको उपस्थितिमा सर्वदलीय बैठक बसेको थियो । बैठकले तत्काल विद्युत् आपूत्र्तिको सम्भावना नरहेको निष्कर्ष निकालेको जिसस उपप्रमुख कार्मा बुढाले जानकारी दिए ।

उक्त बैठकले ठेगेदारलाई जुम्ला बोलाउने र मेसिन मर्मत कार्य छिटो सञ्चालन गर्नेसमेत निर्णय गरेको छ ।

भारतीय दूतावासले सहयोग गरेपछि काम पनि भारतीय कम्पनीलाई नै दिइएको थियो । भारतीय कम्पनी पासी शुभकामना जेभी गेटालाई ठेक्का दिएर काम भइरहेको थियो । भारतीय दूतावासले २ करोड ६३ लाख ७७ हजार सहयोग गरेको छ । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार ९ सय थपेको छ । नयाँ मेसिन जडानका लागि ३ करोडमा ठेक्का सम्झौता गरिएको थियो । अहिले निर्माण गरिरहेको कम्पनीले १ करोड ८६ लाख ८५ हजार ३४० रुपैयाँ भुक्तानी लिइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बिजुलीको टेन्डर प्रक्रियाका विषयमा अख्तियारमा उजुरी परेको जानकारी दिइन् । यसमा अख्तियारले यस विषयमा छानबिन गरिरहेको छ ।

अगार्निक गाउँ घोषणा गरिने

जुम्लाको सिंजा क्षेत्रमा पर्ने तीन गाउँपालिकालाई अर्गानिक बनाउने अभियान सुरु भएको छ । यस क्षेत्रमा हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका ६ वटा गाउँलाई अर्गानिक बनाउने अभियान थालिएको हो । सिंजा क्षेत्रलाई अर्गानिक बाली पकेट क्षेत्रको रूपमा पहिलो चरणको अभियान थालिएको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ । कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डा. तपेन्द्रबहादुर शाहका अनुसार कनकासुन्दरी गाउँपालिकाको लुडकु गाउँ, हिमा गाउँपालिकाको महावैपाथरखोला, ओदी र दधेवारगाउँ र सिंजा गाउँपालिकाको चुलेगाउँ र गोरागाउँलाई अगार्निक गाउँ बनाउने घोषणा गरिएको हो ।

‘जिल्ला नै अर्गानिक जिल्ला घोषणा भइसकेको छ,’ उनले भने, ‘अर्गानिक वस्तु उत्पादनलाई वृद्धि गर्नको लागि अभियान थालिएको हो ।’ ती गाउँमा पशुपालन, बाली संरक्षण र जैविक उत्पादनलाई प्राथमिकतामा राखेर अभियान सफल बनाउन स्थानीयलाई परिचालन गरिने भएको छ । प्रांगारिक नमुना गाउँ सञ्चालक समिति ५, गोराका युवा रामसिंह रावलले धान, सिमी, स्याउ, कागुनोको संरक्षणको लागि समितिले सक्रियताका साथ काम गर्ने बताए ।

‘रासायनिक खेती जीवनको क्षति, प्रांगारिक गाउँ अर्गानिक गाउँ’ नारा तय गरिएको छ ।’ उनले भने, ‘असार धान गोड माली, व्युकोलर विषादी नहाली भन्ने श्लोकसहित अभियान सुरु भएको हो ।’ यस्तो अभियानले युवालाई कृषि क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनको छ । उनका अनुसार जुम्लामा उत्पादन हुने अर्गानिक वस्तुको उचित बजारीकरण र आर्थिक लाभ गरी स्वरोगार बन्न सकिने बताइएको छ । यस्तै, कृषि ज्ञान केन्द्र जुम्लाले विषादी मुक्त जिल्ला बनाउने उद्देश्यसहित व्युटाकोलर प्रयोगमा रोक लगाएको छ । व्यूटाकोलरको अध्यधिक प्रयोग बढ्न थालेपछि केही स्थानीयले प्रयोग गरेको पाईएमा सेवासुविधा रोक्का गर्ने समेत बताउदै आएका छन् ।

जुम्लामा उत्पादन हुने अर्गानिक वस्तुको जिल्ला देखी केन्द्र स्तरमा अध्यधिक माग रहेकोल यस्ता कार्यमा कडाई गरिएको कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डाक्टर तपेन्द्र बहादुर शाहले बताए । कृषि ज्ञान केन्द्र पनि कडाईका साथ अघि बढेको उनले जानकारी दिए ।