☰ open Loading... 15 November 2024|  

अपराध अनुसन्धानमा प्रहरीलाई ९५ प्रतिशत सफलता
  | ९ श्रावण २०७६, बिहीबार १८:११

प्युठान, अपराध अनुसन्धानमा प्युठान प्रहरीलाई औसत ९० प्रतिशतसम्म सफलता प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानमा आर्थिक वर्ष ०७५/७६ मा जिल्ला प्रहरी कार्यालय प्युठानमा परेका विभिन्न प्रकृतिका दुई सय १५ मुद्दा परेका थिए । तीमध्ये ९५ प्रतिशत सफल अनुसन्धान भएको प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए  ।

६ वर्षदेखि फरार अभियुक्तलाई प्रक्राउ 

विज्ञान केसी हत्या काण्डका मुख्य अभियुक्त रमेश मल्ललाई ६ वर्षपछि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सफल भएको छ ।  प्रहरी प्रमुख बुढाथोकीले एउटा समूहले  सूक्ष्म अध्ययन गरेर मल्ललाई प्रक्राउ गरेको हो । ६ वर्षदेखि फरार अभियुक्त मल्ललाई बुटवल उपमहानगरपालिका १२ नयाँगाउँबाट प्रहरीले गत माघमा पक्राउ गरेको थियो । मल्ललाई दोषी  ठहर  गर्दै १९ वर्ष ११ महिना ५ दिन कैद सजायसमेत पाइसकेका छन् । अहिले उनी कारागारमा सजाय काटिरहेका छन् । छुरा प्रहार गरी बिधार्थीको हत्या भएपछि त्यो वेला प्रहरीको चर्कोे आलोचना भएको थियो । त्यसवेला स्थानीयहरू आन्दोलनमा समेत उत्रिएका थिए । बुढाथोकी नेतृत्वको समूहले अनवरत रूपमा अपराधीको खोजीमा लागिरहेको थियो ।

गत पुसमा गौमुखी–६ मा कुलोमा पानी लगाउन गएको समयमा कोदालोले हानेर गणेश घर्तीमगरको हत्या भयो । हत्या आरोपी २६ वर्षीया वीरबहादुर खत्री फरार भए । प्रहरीले घटना घटेको तीन दिन नबित्दै उनलाई काठमाडौंबाट पक्राउ गरी प्युठान ल्याउन सफल भएको थियो । ०६९ मा प्युठानको गौमुखीमा घटेको बहुचर्चित विज्ञान हत्याकाण्डदेखि बलात्कार, लुटपाटमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल प्रहरी प्रमुख  बुढाथोकी त्यसपछि जनताको नजरमा पर्न सफल भएका हुन् । गत २५ साउनदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले आफ्नो कार्यकालमा ९५ प्रतिशत घटनाको सफल अनुसन्धान भएको बताएका छन् ।

दुई सय १५ मुद्दा दर्ता 
आर्थिक वर्ष ०७५/७६ मा दुई सय १५ वटा विभिन्न प्रकृतिका मुद्दा प्रहरीमा दर्ता भए । बुढाथोकीका अनुसार त्यसमध्ये ९५ प्रतिशत मुद्दाको सफल अनुसन्धान गरिएको छ । यो अवधिमा १८ जबरजस्ती करणीका छन् भने पाँच करणी उद्योगका मुद्दा छन् । १३ बहुविवाह र ६ वटा बालविवाहका घटना छन् । कर्तव्य ज्यानसम्बन्धी पाँच, आत्महत्याका ६४ र अन्य गरी दुई सय १५ घटना जिल्ला प्रहरीमा दर्ता भएको तथ्यांक छ । प्रहरीमा घरेलु हिंसाका ८६ निवेदन परेकामा प्रहरीकै सक्रियतामा ५३ बालविवाह रोकिए ।