☰ open Loading... 15 November 2024|  

नयाँ कानुनपछि ३७ पुरुषले दिए सम्बन्धविच्छेदको मुद्दा
  | ९ श्रावण २०७६, बिहीबार १८:१३

रुकुम (पश्चिम), गत वर्षको १ भदौबाट नयाँ कानुन लागू भएपछि जिल्लामा पुरुषले पनि धमाधम सम्बन्ध विच्छेदका लागि मुद्दा दिन थालेका छन् । नयाँ कानुन लागू भएपछि ३७ जना पुरुषले जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका हुन् ।  आर्थिक वर्ष ०७५/७६ मा १ भदौदेखि असार मसान्तसम्म ३७ पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दिएको जिल्ला अदालतले जनाएको छ । नयाँ कानुन आउनुअघि पुरुषका लागि सम्बन्ध विच्छेदको मुद्दा दिन झन्झटिलो प्रक्रिया थियो । तर, नयाँ कानुनले सीधै जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था गरेपछि एक वर्षको अवधिमा जिल्लाका ३७ पुरुषले अदालतमा मुद्दा दिएका हुन् ।

जिल्ला न्यायाधीश आत्मदेव जोशीले ३७ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएको जानकारी दिए । जसमध्ये अहिलेसम्म कुनै पनि मुद्दामा फैसला भने नभएको उनले बताए । १९ वटा मुद्दा मेलमिलापका माध्यमबाट फछ्र्यौट भएका र फैसला भने एउटामा पनि नभएको उनको भनाइ छ । मुद्दा दर्ता भएको एक वर्षसम्म मेलमिलाप गराउने व्यवस्थाअनुसार अहिलेसम्म प्रतिउत्तर बुझ्न नआएका जोडीको सम्बन्ध विच्छेद भएको छ । श्रीमान्, श्रीमतीले आपसी मेलमिलापमा सम्बन्ध विच्छेद गर्न चाहेमा त्यसलाई कानुनी मान्यता दिएको जिल्ला न्यायाधीश जोशीले बताए ।

वर्ष दिन मेलमिलापको अवधि 
नयाँ कानुनले पुरुषले पनि सीधै जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने तर उक्त मुद्दामा एक वर्षसम्म श्रीमान्, श्रीमतीबीच मेलमिलाप गराउनुपर्ने व्यवस्था गरेको छ । एक वर्षका बीचमा मेलमिलाप हुन नसकेको खण्डमा मात्र अदालतले फैसला गर्न पाउने जिल्ला न्यायाधीश जोशीले बताए । पुरुषवादी कुल ३७ वटा मुद्दामध्ये केही मुद्दा मेलमिलापका माध्यमबाट फछ्र्यौट भएको उनको भनाइ छ । उनका अनुसार अहिलेसम्म अदालतमा मेलमिलाप भएकामध्ये सबै मुद्दामा श्रीमान्, श्रीमती सम्बन्ध विच्छेद गर्न राजी भएका छन् ।

केही मुद्दामा भने प्रतिउत्तर बुझ्न नआएपछि स्वतः सम्बन्ध विच्छेद भएको छ । श्रीमान्को तर्फबाट सम्बन्ध विच्छेदका लागि भन्दै मुद्दा परेपछि त्यसको प्रतिउत्तर बुझ्न श्रीमतीलाई पत्र पठाउने गरिएको र निश्चित समयसम्म प्रतिउत्तर बुझ्न नआएपछि स्वतः सम्बन्ध विच्छेद हुने व्यवस्था रहेको जिल्ला न्यायाधीश जोशी बताउँछन् । बाँकी रहेका १८ ओटा मुद्दा मेलमिलापका क्रममा रहेको र दर्ता भएको एक वर्षसम्ममा मेलमिलाप हुन नसकेकामा फैसला हुने उनले जानकारी दिए ।

पुरुषका तर्फबाट सम्बन्ध विच्छेदका लागि मुद्दा पर्न थालेपछि पुरुष पनि पीडामा छन् भन्ने बुझ्न सकिने अधिकारकर्मीको भनाइ छ । त्यस्तै, नयाँ कानुनमा टेकेर पुरुषले आफूलाई मन परेन भन्दैमा विनाकारण सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्नेमा पनि सचेत हुनुपर्ने अधिकारकर्मीको राय छ ।

बालविवाह र वैदेशिक  रोजगार प्रमुख कारण 
जिल्लामा गएको आर्थिक वर्षमा कुल एक सय ९६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । त्यसमा सबैभन्दा बढी महिलावादी एक सय १७ वटा मुद्दा थिए । अंशको मागसहित परेका सम्बन्ध विच्छेदका मुद्दा ४२ थिए भने पुरुषको तर्फबाट ३७ वटा मुद्दा परे । यी सबै मुद्दाको कारण भने समान छन् । जिल्ला न्यायाधीश जोशीका अनुसार सम्बन्ध विच्छेदमा बालविवाह र वैदेशिक रोजगार प्रमुख कारकका रूपमा रहेका छन् ।

 उमेर परिपक्व नहुँदै विवाह गर्ने तथा श्रीमान् वैदेशिक रोजगारमा गएका कारण पारिवारिक कलह सिर्जना हुने गरेको पाइएको छ । ‘जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा बर्सेनि बढ्नुमा यी दुई प्रमुख कारण रहेका छन्, यसलाई व्यवस्थापन गर्न नसक्ने हो भने जिल्लामा सम्बन्ध विच्छेद अझै भयानक हुने देखिन्छ,’ उनले भने ।