जुम्ला, सशस्त्र द्वन्द्वका घाइतेले राहत नपाएको गुनासो गरेका छन् । द्वन्द्व अन्त्य भएको एक दशक बितिसक्दा पनि राहत नपाएको घाइतेले बताएका छन् । तिला गाउँपालिका–१ रारालिहिका ३५ वर्षीय वीरबहादुर बुढा कपिलवस्तुमा २४ चैत, ०६० मा तत्कालीन शाही नेपाली सेना र माओवादीबीच भएको भिडन्तमा घाइते भएका थिए । उनको शरीरमा एउटा गोली र तीनवटा छर्रा लागेका थिए । जग्गा बेचेर भारतमा उपचार गरे पनि सञ्चो नभएको उनले बताए । ‘दुईवटा छर्रा त निक्लिएका छन्, एउटा छर्रा उस्तै छ,’ बायाँ पाखुरा देखाउँदै उनले भने, ‘हाडमा पुगेको छर्रा निकाल्न सकेको छैन ।’
उपचार गर्न राज्यको तर्फबाट सहयोग नपाएको उनले गुनासो गरे । आर्थिक समस्याका कारण उपचार गर्न नसक्दा अशक्त जीवन बिताउनु परिरहेको उनले दुःखेसो गरे । आफूले सक्दो उपचार गरेको भए पनि छर्रा भित्रै भएकाले दुख्ने गरेको उनले सुनाए । ‘डाक्टरले पाँच लाख लाग्छ भनेका छन् । त्यति पैसा कहाँबाट ल्याउनु ?’ उनले भने । राज्यले बेवास्ता गरेको बताउँदै उनले भने, ‘सबै सम्पत्ति सकियो, कसरी बाँकी छर्रा निकाल्ने ?’
त्यस्तै, तिला गाउँपालिका–१ राराका जयलाल परियारले पनि उपचार नपाएको गुनासो गरेका छन् । ०५५ मंसिरमा प्रहरीले र ०६० मा सेनाले पक्राउ गरेर यातना दिएका परियारका अझै पनि जोर्नी दुख्छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकेको बताउँदै उनले भने, ‘न पार्टीले हे¥यो न त राज्यले । राम्ररी उपचार गर्नसमेत पाएको छैन ।’
सेनाको कुटपिटबाट बायाँ हात गुमाएका गुठिचौर गाउँपालिका–२ का काली रोकायाले पनि राहत नपाएको बताए । ‘शान्ति समितिको कार्यालय हुँदासम्म राहतका लागि धाइन्थ्यो, अब त समिति पनि खारेज भयो । अब कसले राहत दिन्छ ?,’ रोकायाले भने । राहत माग्न कहाँ जाने भन्ने पनि थाहा नभएको उनले बताए ।
हिमा गाउँपालिका–३ का रतन रोकायाको पीडा पनि उस्तै छ । सुर्खेतको भेरीपुलमा बम विस्फोटमा दाहिने खुट्टा गुमाएका उनले कतैबाट सहयोग नपाएको बताए । राहतका लागि पटकपटक फारम भरे पनि सहयोग नपाएको उनको भनाइ छ । ‘राहत र जीवन निर्वाह भत्ताका लागि विभिन्न निकायमा १० पटक फारम भरिसकेँ । कसैले केही दिएनन्,’ रोकायाले भने । जग्गा बेचेर तथा ऋण निकालेर जीविका चलाइरहेको उनले बताए ।