सल्यान: दार्मा गाउँपालिका-२ की ६८ वर्षकी हिमादेवी चन्दले आफ्नो श्रीमानको नाममा भएको जग्गा नामसारी गर्नको लागि दुई दिन लगाएर सदरमुकाम आइन्। आफ्नो नाममा जग्गा नामसारी गर्ने धोको बोकेर मालपोत आएकी चन्द कार्यालय प्रमुख नहुँदा नामसारी नहुने सुनेपछि उनको धोको अधुरै रह्यो।
दुई दिन लगाएर सदरमुकाम आएर काम नै नभई रित्तो हात घर फर्किन उनी बाध्य भइन्। यस्तै वन्गाड कुपिण्डे नगरपालिका-२ का ७२ वर्षीय नोखे कामी पनि आफ्नो बुवाको नाममा भएको जग्गा नामसारी गर्ने र नामसारी गरेपछि आफ्ना छोराहरूलाई अंशवण्डा गरिदिने योजनाका साथ वर्षायामको समयमा मालपोत कार्यालयमा आइपुगे।
कार्यालयमा आउँदा कार्यालय प्रमुख नभएपछि निरास हुँदै उनी पनि घरतिर फर्किए। यसरी रित्तो हात फर्किने चन्द र कामी प्रतिनिधि पात्र मात्र हुन्। मालपोत कार्यालयमा आउने धेरै सेवाग्राही आजभोलि यसरी नै रित्तो हात फर्किन बाध्य छन्। एकातिर कार्यालय प्रमुखविहीन अर्कोतिर तीन जनामात्र कर्मचारी हुँदा कार्यालयबाट हुने सेवाप्रवाह प्रभावित भएको छ।
१३ जनाको दरबन्दी रहेको कार्यालयमा अहिले तीन जना मात्र कर्मचारी रहेको कार्यालयका खरिदार दीपक बुढाथोकीले बताए। एक जना सुब्बा र दुई जना खरिदारको भरमा कार्यालय सञ्चालन भइरहेको बुढाथोकीले बताए। उनले भने, ‘आफूले मोठ काट्ने, रजिस्टेशनको काम, कम्युटर, प्रशासनदेखि स्टोरको काम समालेका छु।
कार्यालयको आन्तरिक काम गर्ने की सेवाग्राहीको काम गर्ने निकै समस्या हुने गरेको छ।’ कर्मचारी समायोजन, तथा दुर्गम जिल्लामा कर्मचारी आउन नमानेका कारण कर्मचारीको अभाव भएको उनको भनाइ छ। मालपोत कार्यालयमा मालपोत अधिकृत विगत दुई हप्तादेखि नहुँदा मालपोतको कामकाजमा समस्या देखिएको छ।
कायम मुकायमा मालपोत अधिकृतको अवकासपछि मालपोत कार्यालय प्रमुखविहीन भएको छ। मालपोत कार्यालय सल्यानमा विशेष गरी नामसारी, घर कायम, संशोधनलगायत मुद्दाले गर्ने कामकाजमा प्रत्यक्ष असर परेको मालपोत कार्यालयम सल्यानका नायव सुब्बा शोभाकर न्यौपानेले बताए। उनले भने ‘मालपोत कार्यालयमा पहिलेदेखि नै कर्मचारीको समस्या थियो नै, अहिले कार्यालय प्रमुख नहुँदा मुद्दाका सम्पूर्ण कामकाज रोकिएका छन्।’
कायम मुकायम मालपोत अधिकृत हुँदा नै विभागमा कार्यालय प्रमुखको माग गरे पनि अहिलेसम्म कार्यालय प्रमुख नआएको न्यौपानेले बताए। उनले भने ‘मालपोत कार्यालयमा सबैभन्दा धेरै नामसारी, घर कायमलगायतका काममा सेवाग्राही आउने गर्दछन् तर, कार्यालय प्रमुख नहुँदा अरूलाई काम गर्ने अख्तियारी छैन जसका कारण सेवाग्राही काम नै नगरी फर्किन बाध्य छन्।’ जनताले प्रत्यक्ष सेवा लिने कार्यालय मध्य मालपोत कार्यालय पनि एक हो।
सेवाग्राहीको धेरै भीड हुने कार्यालय मध्येको मालपोत कार्यालयमा प्रमुख र प्रयाप्त कर्मचारी नहुँदा सेवाग्राही निरास बन्दै गइरहेका छन्।
थाहाखबरबाट