जाजरकोट, डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने जाजरकोट–डोल्पा सडकको ट्र्याक खोलेर नेपाली सेनाको टोली फर्किन लागेको छ । केही दिनभित्रै सडक विभागलाई हस्तान्तरण गर्ने जनाइएको छ । नेपाली सेनाको निर्माण दलले जाजरकोट–डोल्पा जोड्ने एक सय १८ किलोमिटर सडकको ट्र्याक खोलेर लक्ष्य पूरा भएको छ । सडक विभागलाई हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । सेनाले १५ वर्ष लागेर यो सडकको ट्र्याक खोलेको हो ।
सल्यानको सल्ली बजारदेखि जाजरकोटसम्म सेनाले निर्माण गरेको सडकमा कालोपत्रे पनि भइसकेको छ । जाजरकोटको पासागाडदेखि दुनैसम्मको एक सय १८ किलोमिटर सडक आयोजना सफलतापूर्वक सम्पन्न भएको निर्माण कार्यदल प्रमुख कर्नेल पहाडीले बताए । ‘विषम परिस्थिति र भौगोलिक विकटता भए पनि सरकारले दिएको जिम्मेवारी सेनाले पूरा गरेको छ,’ कर्नेल पहाडीले भने । सडक निर्माणको क्रममा थुपै्र चुनौतीको सामना गर्नुपरेको उनले बताए । डोल्पालीको सपना पूरा हुन लागेको उनको भनाइ छ । ‘सेनाले ज्यान हत्केलामा राखेर सरकारले दिएको जिम्मेवारी पूरा गरेको छ,’ उनले भने ।
डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने उद्देश्यले यो सडक ०६५ देखि निर्माणको थालनी गरिएको थियो । सुरुवातका दुई वर्ष रेखांकनमै विवाद हुँदा काम हुन सकेको थिएन । विवाद सुल्झिएपछि सेनाको टोली निर्माणमा जुटेको थियो । डोल्पालीले सडक पुग्ला भनेर कल्पनासमेत नगरेको कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीले सुनाए । अहिले दुनैसम्म जिप, ट्याक्टर पुग्न थालेको बताउँदै प्रदेशसभा सदस्य शाहीले भने, ‘नेपाली सेनाले जिम्मा नलिएको भए डोल्पासम्म मोटर पुग्ने सम्भावना नै थिएन,’
एक दर्जन पुल आवश्यक
जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलाउने काम सम्पन्न भए पनि पुल निर्माणको अभावमा खण्ड–खण्डमा यातायात सञ्चालन भइरहेको छ । यो सडकअन्तर्गत राडीज्युला, तल्नुबगर, हरियापानी, सुपानी, छलगाँड, चुँगाड, रुपगाँडलगायत एक दर्जन ठाउँमा पुल निर्माण हुन बाँकी छ ।भेरी नदीमाथि मात्रै ६ वटा पुल परेका छन् । जसमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भएका छन् भने राडीज्युला, तल्लु, हरियापानी र सुँपानीमा बाँकी छन् । ट्र्याक खुले पनि सडक स्तरोन्नति हुन सकेको छैन । स्थानीय बासिन्दाले सडक स्तरोन्नति गर्न माग गरेका छन् । ट्र्याक मात्रै खुलेकाले दुर्घटनाको जोखिम रहेको स्थानीय बासिन्दाले बताए ।
नयाँपत्रिकाबाट