हुम्ला : हुम्लाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन छन्। उनीहरु साउन १५ देखि सम्पर्कविहीन रहेको उनीहरुका अभिभावकले जानकारी दिएका छन्। सर्केगाड गाउँपालिका–७ रोडिकोटका टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँका लक्षुकाकै साथी सङ्गीता शाही सम्पर्कविहीन भएका हुन्।
लक्षुका रातो गहुँगोरो अनुहार, दाहिने आँखामुनि खत भएकी रातो कुर्ता सुरुवाल लगाएकी छन्। उनी कोट माविमा कक्षा ८ की विद्यार्थी हुन्। सङ्गीता शाही सोही विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने र रातोगोरो अनुहारकी मोटी शरीर भएकी छिन्। उनीहरु दिउँसो घरबाट हराएको लक्षुका बुबाले बताए।
साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजी गरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय हुम्लाको १०० मा सम्पर्क गर्नुहुन आग्रह गरेको छ।