काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने बताएका छन् ।
मन्त्रालयद्वारा शुक्रवार राजधानीमा आयोजित आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले कर्मचारीले तोकिएको काम बाहेक अनावश्यक अतिरिक्त समय बिताए त्यसको परिणाम भोग्नुपर्ने धारणा राखे । ‘कर्मचारी जसलाई जे जिम्मेवारी दिइएको हो । त्यही काममा लाग्नुहोस्’ मन्त्री पण्डितले भने ‘तोकिएको कामबाहेक अरु गरे त्यसको मूल्य चुकाउनुपर्ने छ ।’
सरकारले तोकेको काम पूरा नगर्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने भन्दै उनले त्यस्ता कर्मचारीलाई बिदा गरेर पठाइने बताए । मन्त्री पण्डितले अपुग कर्मचारी यसै आवको शुरुदेखि नै अन्त्य गर्ने उल्लेख गर्दै अब नियमति कर्मचारी भर्ना गर्दै जाने जानकारी दिए । सङ्घीय निजामति कर्मचारी सेवा ऐन यही महीनाभित्र संसद्बाट अगाडि बढ्ने उहाँको भनाइ थियो । प्रदेश र स्थानीय तहमा कर्मचारीको पद, श्रेणीमा देखिएको समस्या तथा असमान तलबलाई एक साताभित्र सुल्झाउने मन्त्री पण्डितले बताए ।