☰ open Loading... 27 April 2024|  

वनमन्त्री बस्नेत र सचिव ओलीबीच करार सम्झौतामा हस्ताक्षर
  | २१ श्रावण २०७६, मंगलवार ०९:५५

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीसँग वार्षिक करार सम्झौता गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सो अवसरमा मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा व्यक्त हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री बस्नेतले कार्यसम्पादनका क्रममा सुशासनलाई केन्द्रमा राख्न पनि आग्रह गरेका थिए । “मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा देखिनेगरी काम हुनुपर्छ,” मन्त्री बस्नेतले भने, “काम गर्दा हामी सबैले सुशासनलाई प्राथमिकतामा राख्नैपर्छ, अन्यथा सरकारले लक्ष्य पूरा हुन सक्दैन ।”

मन्त्री बस्नेतले दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएको उल्लेख गरे ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले इतिहासमै पहिलोपटक सरकारले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेको हुँदा त्यसले मन्त्री र कर्मचारीलाई आत्मअनुशासित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सचिव ओली र सहसचिवहरुबीच सम्झौता 

कार्यक्रममा सचिव ओली र १४ सह–सचिवहरुबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।