☰ open Loading... 16 November 2024|  

जिल्लाकै नमुना विद्यालय : स्याउ बेचेर दुई लाख आम्दानी, विद्यार्थीलाई निःशुल्क होस्टेल
  | २२ श्रावण २०७६, बुधबार १८:५२

जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाकै नमुना विद्यालयका रूपमा परिचित छ । प्रशस्त जमिन, आफ्नै स्याउ बगैँचा भएको विद्यालयमा विज्ञान, वाणिज्य, शिक्षा र सिटिइभिटीको प्राविधिक शिक्षा पढाइ हुने गरेको छ । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा संकाय र सिटिइभिटीको १८ महिने कृषि जेटिए तथा तीनवर्षे प्लान्ट साइन्स अध्यापन गराउँदै आएको महादेव माध्यमिक विद्यालय जिल्लामै आर्थिक हिसाबले पनि सबल छ ।

२० जना शिक्षक कर्मचारीको दरबन्दी भए पनि विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक नरदीप शाहीले बताए । ‘विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी छन्,’ उनले भने, ‘१५ जना शिक्षक तथा कर्मचारीलाई निजीस्रोतबाट व्यवस्थापन गरेका छौँ ।’

स्याउ र घाँस बेचेर आम्दानी
विद्यालयको करिब तीन हेक्टर जमिनमा स्याउको बगैँचा छ । स्याउ र घाँस बेचेर विद्यालयले वार्षिक दुई लाखसम्म आम्दानी गर्ने गरेको प्रधानाध्यापक नरदीप शाहीले बताए । स्याउबाट जाम बनाउने गरिएको र बर्र्सेिन घाँस बेचेर थप आम्दानी गर्ने गरेको शिक्षक नवीन हमालले बताए । ‘हामीले स्याउ तथा घाँस बेचेर आम्दानी गर्ने गरेका छौँ,’ उनले भने, ‘बगैँचाको हेरचाह शिक्षक र विद्यार्थीबाट हुने गरेको छ ।’

विद्यालयका नाममा रहेको खेतीयोग्य जमिन स्थानीयलाई भाडामा समेत दिइएको छ । सो जमिनमा स्थानीयले आलु र खाद्य बाली उत्पादन गर्ने गरेको शिक्षक हमालले बताए । उनले भने, ‘जमिनको भाडा वार्षिक एक लाखसम्म आउँछ ।’ विद्यालय हाताभित्र रोपिएको बोजोबाट पनि आम्दानी हुने गरेको बताइएको छ ।

विद्यार्थीलाई सहज
महादेव माध्यमिक विद्यालयमा कृषि प्राविधिकतर्फको १८ महिने कार्यक्रममा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीले शिक्षा लिइरहेका छन् । तीनवर्षे कृषि जेटिएमा जुम्ला र कालिकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले बताए । ‘हिमाली जिल्लाका विद्यार्थी प्राविधिक शिक्षातर्फ आकर्षित छन्,’ उनले भने, ‘यी जिल्लाबाहेक केही विद्यार्थी हुम्ला र मुगुबाट प्राविधिक शिक्षा पढ्न आएका छन् ।’

आफ्नै होस्टेल
प्राविधिक शिक्षा पढ्न आउनेका लागि विद्यालयले आफ्नै होस्टेल सञ्चालन गरेको छ । होस्टेल सुविधा निःशुल्क उपलब्ध गराइएको छात्रवृत्तिमा १८ महिने जेटिए पढिरहेकी जुम्ला तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकायाले बताइन् । ‘होस्टेल घरजस्तो छ, शिक्षक अभिभावकजस्ता छन्,’ उनले भनिन्, ‘होस्टेलमा निःशुल्क बस्ने व्यवस्था छ ।’

२४ घन्टै प्रधानाध्यापक
प्रधानाध्यापक नरदीप शाही विद्यार्थीसँगै होस्टेलमा बस्ने गरेका छन् । उनी विद्यालयमा २४ घन्टै भेटिने गर्छन् । कामविशेषले बाहिर गएका वेलाबाहेक हेडसर २४ घन्टै विद्यालयमा भेटिने गरेको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए ।