☰ open Loading... 15 November 2024|  

विद्यालयका कार्यालय सहयोगीको तलब महिनाको दुई हजार मात्रै
  | २८ श्रावण २०७६, मंगलवार ११:१२

जुम्ला, सरकारले चालू आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारी तलब २० प्रतिशतले बढायो । तर, जुम्लाका सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले दुई दशकदेखि तलब नबढेको गुनासो गरेका छन् । उनीहरूले मासिक दुई हजार रुपैयाँ मात्रै तलब पाउने गरेको बताएका छन् ।

सरकारी कर्मचारीको तलब बढे पनि सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीको तलब नबढ्दा दुई दशकअघिकै तलबमा काम गर्नुपरेको उनीहरूले बताएका छन् । ‘बिहानदेखि साँझसम्म काम गर्नुपर्छ, तर महिनाको दुई हजारमात्रै तबल पाउँछु,’ जुम्लाको तातोपानी गाउँपालिका–८ डुंरीस्थित भवानी प्राविका कार्यालय सहयोगी देविलाल रावतले भने, ‘मजदुरले पनि दिनको दुई–तीन सय रुपैयाँ पाउँछन् । हामी त कर्मचारी भन्नु मात्रै छ, दिनको ६६ रुपैयाँ तलब पर्छ ।’

यहाँका सबैजसो सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीको तलब एकनासकै छ । उनीहरूले महिनाको दुई हजार मात्रै पाउने गरेको बताएका छन् । प्राथमिक तहका शिक्षकले पनि मासिक १८ हजारभन्दा बढी पाउँछन् । विद्यालयमा कार्यरत लेखापालले मासिक ११ हजार पाँच सयभन्दा बढी बुझ्छन् । तर, कार्यालय सहयोगीको मात्रै तलब नढेको उनीहरूको भनाइ छ ।

‘दैनिक ६६ रुपैयाँले कसरी छोराछोरी पढाउनु, खानपिनको व्यवस्था गर्नु ?’ कार्यालय सहयोगी रावतले भने । मासिक दुई हजार रुपैयाँमा जीविकोपार्जन गर्न मुस्लिक भएकाले तलब बढाउन उनीहरूले माग गरेका छन् ।