☰ open Loading... 15 November 2024|  

जुम्ला पुग्यो विद्युत् प्राधिकरणको डिजेल प्लान्ट
  | ३२ श्रावण २०७६, शनिबार १५:५२

जम्ला, उर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेको दुई साताभित्र डिजेल प्लान्ट जुम्ला पुगेको छ । प्राधिकरणले पठाएको डिजेल प्लान्ट बुधबार जुम्ला पुगेको हो ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले २१ साउनमा प्रतिनिधिसभाको बैठकमा मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बेवास्ता गरेको बताएका थिए । जुम्ला सदरमुकाम खलंगा महिनौदेखि विद्युत्विहीन भएको तर सम्बन्धित व्यक्तिहरूले फोनसमेत नउठाउने गरेको भन्दै सांसद महतले आलोचना गरेका थिए । सांसद महतले आलोचना गरेपछि प्राधिकरणले जुम्लाका लागि तीन सय केभीको डिजेल प्लान्ट पठाएको हो । डिजेल प्लान्टसँग एकजना कर्मचारीको पनि व्यवस्था गरिएको छ । केही दिनमै जडान हुने प्राधिकरण जुम्ला शाखाले जनाएको छ ।

तीन दशकअघि निर्माण भएको साना जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्न गत कात्तिकदेखि विद्युत् आपूर्ति बन्द गरिएको थियो । तर, नयाँ मेसिन जडान गर्ने क्रममा बेरिङ भाँचिएको थियो । जसले गर्दा विद्युत् आपूर्ति सहज हुन सकेको छैन । मेसिन मर्मतका लागि धनगढी पठाएको साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।

नयाँ मेसिन जडानका लागि नेपालस्थित भारतीय दूतावासले सहयोग गरेको थियो । भारतीय कम्पनी पासी शुभकामना जेभीलाई जडानको ठेक्का दिइएको थियो । जसमा भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार र साना जलविद्युत्् उपभोक्ता समितिको ४५ लाख २२ हजार नौ सय रहेको छ । नयाँ मेसिनको बेरिङ भाँचिएपछि डिजेल प्लान्ट जडान गरिएको छ । उपभोक्ता समितिले स्थानीय पूर्वाधार कोषको २६ लाख ४० हजार खर्च गरेर १६० किलोवाटको  डिजेल प्लान्ट जडान गरिएको हो ।