चामुण्डा (दैलेख), चामुण्डाविन्द्रासैनी नगरपालिकाले घरमै पुगेर दिँदै आएको स्वास्थ्य जाँच र उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोपकाबीच उपचार सेवा लिएर घरमै पुगेकाले स्याबासी पाएका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नंं ७ का ७० बर्षिय हरिवदन वादीको घरमै स्वास्थ्य कर्मि पुगेर स्वास्थ्य चेकजाँच गरे । घरमै स्वास्थ्य परिक्षण गराउन पाउँदा उनी निकै खुसी भए । घरमै पुगेर शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीहरु प्रत्येक महिना जेष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपाङ्ता भएका व्यक्तिको स्वास्थ्य परिक्षण गराउदै आएका छन । हरिबदनले अस्पताल जान गाह्रो हुने भएकाले घरमै पुगेर स्वास्थ्य कर्मीले जेष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपाङ्ता भएका व्यक्तिको स्वास्थ्यमा जिम्मेवार भएको महसुस गरेको बताउनु भयो ।
यसैगरी चामुण्डाविन्द्रासैनी नगरपालिका वडा न ं. ७ की ६६ वर्षिया विष्णा चौलागाईले स्वास्थ्य कर्मी घरमा पुग्दा एकछिन दंग भईन । किन आए मेरो घरमा स्वास्थ्य कर्मीहरुको उहाँको मनमा कोतुहता लाग्यो । केही समय पछि उनले सोधिनन् मेरो घरमा किन आउनु भएको हो ? स्वास्थ्य कर्मीको जवाफ थियो, ‘हामी तपाईको स्वास्थ्य चेक जाँच गर्न आएका हौँ ।
त्यसपछि विष्णा निकै खुसी भनिन् मलाई रक्त चाप र छाती दुख्ने समस्या छ । त्यसपछि उनलाई स्वास्थ्यकर्मीले चेकजाँच गरी उहाँले औषधी र आवश्यक स्वास्थ्य सम्बन्धि परामर्श दिनुभयो । यसरी घरमै स्वास्थ्य कर्मी पुगेर आफ्नो स्वास्थ्य चेकजाँच गर्दा सिंहदरबार गाउँ गाउँमा आएका महसुस भएको विष्णाले बताउनु भयो ।
नगरपालिकाले प्रत्येक वडामा जेष्ठ नागरिक, असाहय, गर्भवति तथा सुत्केरी महिला, नवजात शिशु र अपाङ्ता भएका व्यक्तिलाई केन्द्रित गरेर औषधी उपचार सेवा संचालन गर्दै आएको छ । वडा वडामा रहेको शहरी क्लिनिकबाट प्रत्येक महिना जेष्ठ नागरिक उपचार, परामर्श कार्यक्रम संचालन गर्दै आएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले बताउनु भयो । नगरपालिकाले यो कार्यक्रमलाई बजेटमै राखेर कार्यान्वयन गरेको उहाँको भनाई छ । नागरिक स्वास्थ्य भन्दा ठूलो केही नभएकाले स्वास्थ्यलाई प्रथामिकता दिएको उहाँले बताउनुभयो । अब कोही जेष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपाङ्ता भएको व्यक्तिहरुले घण्टौ हिडेर स्वास्थ्य चेकजाँच गर्न जानु नपर्ने उहाँको भनाई छ ।
आर्थिक वर्ष २०७५÷०७६ बाट नगरपालिकाले जेष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपाङ्ता भएका व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्दै आएको छ । यो अभियानले गाउँगाउँमा सिहंदरबारको नारालाई सार्थकता दिएको स्थानीयको बुझाइ छ । स्थानीयलाई स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । गत मंसिरमा शहरी स्वास्थ्य क्लिनिक कार्यविधि पास गरी नगरपालिकाले सबै वडा तथा भुगोललाई मध्यनजर गरी १५ वटा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरेको छ । शहरी स्वास्थ्य क्लिनिकमा एकजना अनमि र एकजना सि.एम.ए दरबन्दी कायम गरी शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीलाई जेष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपाङ्ता भएको व्यक्तिको स्वास्थ्य चेकजाँच गर्न खटाईएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिनुभयो ।
नगरपालिकाले ग्रामिण वडाका जेष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपाङ्ता भएका व्यक्तिको घरमै पुगेर जाँच गरेको छ । ‘उपचारका लागि स्वास्थ्य संस्थासम्म जान नसक्नेहरुले स्याबासी दिनुभएको छ, चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर स्वास्थ्य ईकाइका प्रमुख दिपबहादुर खड्काले भन्नुभयो–‘नगरभरीका जेष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपाङ्ता भएका व्यक्तिका घरमै पुगेर स्वास्थ्य चेकजाँच गरेका छौं ।’