☰ open Loading... 15 November 2024|  

‘मागेको सेयर नपाएपछि मेयरले इँटा उद्योगमा डोजर लगाए’
  | १२ भाद्र २०७६, बिहीबार १६:३८

काठमाडौं । नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा सञ्चालित आठवटा इँटा उद्योगमा डोजर लगाएकोप्रति व्यवसायीले आपत्ति जनाएका छन् । बन्द रहेको बेलामा डोजर लगाउने कार्य प्रति नेपाल इँटा उद्योग महासंघले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
महासंघका अध्यक्ष महेन्द्र चित्रकारले यसरी तहसनहस पारिएका उद्योगमा रहेका भौतिक संरचना, चिम्नी, पाकेका इँटा, कामदारहरुको वासस्थान र कार्यालय भवन आदिमा भएको क्षति कम्तिमा १० करोडको भएको जानकारी दिए ।
इँटा उद्योगबाट हुने प्रदुषणलाई घटाउने सन्दर्भमा विगतमा नगरपालिक र ईंट्टा उद्योगीबीच भएको छलफललाई समेत आधार मानी ती उद्योगहरुमा जिगज्याग, फोर्स ड्राउट फाइरिङ सिस्टम प्रविधि प्रयोग गरी सरकारले तोकेको ३५० पीपीएमको मापदण्ड भन्दा अत्यन्त कम मात्रै प्रदूषण गरिरहेको उनले बताए ।
उनले भने, “सबै मापदण्डलाई वेवास्ता गर्दै संविधानले प्रत्याभूत गरेको सम्पत्ति राख्न र व्यवसाय गर्न पाउने मौलिक हकको हनन गरिएको छ ।” नगरपालिका जस्तो जिम्मेवार निकायका प्रमुखले गुण्डागर्दी शैलीमा उद्योगमाथि आक्रमण गराउनु निन्दनीय रहेको आरोप उनको छ ।
यसबारे नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले महासंघको आग्रहमा वर्तमान सरकारले हरेक पालिकामा साना उद्याग ग्राम स्थापना गर्ने गरेको निर्णय कार्यान्वन्यन गरी उद्योगलाई व्यवस्थित पार्नुको साटो नमोवुद्ध नगरपालिकाले आफ्नो तहमा सञ्चालित उद्योगलाई व्यक्तिगत द्वेषका कारणले गर्दा तहसनहस गर्न डोजर चलाउनु निन्दनीय रहेको बताए । गिरीले त्यस्ता उद्योगले प्रदूषणको तोकिएको मापदण्ड पूरा गर्न सकेका थिएनन् भनेपनि त्यसलाई सुधार्न मौका दिनुपर्ने दाबी गर्दै भने, “सरकारले तोकेको मापदण्ड भन्दा धेरै तल १५० देखि २०० पीपीएमको धुँवा उत्सर्जन गरिरहेका त्यस्ता उद्योगलाई बन्द गराउनु आफैमा गैर कानुनी कदम हो ।”
अहिले विभिन्न पालिकामा विकल्पको व्यवस्था नगरी विभिन्न उद्योगहरु नविकरण गर्न विभिन्न झन्झट लगाइरहनु र यो वा त्यो नाममा उद्योग व्यवसायीहरुलाई हतोत्साही गराउने कामले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई असफल र दिग्भ्रमित बनाउन उहाँकै पार्टीका मान्छेहरु लागिपरेको आरोप लगाए । उनले भने, “यसतर्फ तत्काल संघीय सरकारको ध्यान जाओस् ।”
ईट्टा उद्योगी व्यवसायी संघ काभ्रेका अध्यक्ष जितेन्द्र खायामलीले ईट्टा उद्योगले सिर्जना गरेका आर्थिक अवसरका कारण विकास भएको भकुण्डेवेसीको बजारमा त्यहीका स्थानिय मेयरले ईट्टा उद्योगमा आक्रमण गराउनुको पछाडी व्यक्तिगत विषय रहेको बताए । ईट्टा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकर चन्दले सो नगरपालिकाका मेयरले ईट्टा उद्योगमा आफ्नो पनि सेयर माग गरेको र उद्योगीले दिन नसक्दा ईट्टा उद्योग नै तहसनहस गर्ने काम गरेको आरोप लगाए ।