सुशील खड्का
सुर्खेत । दैलेख लैजान भनि नेपालगञ्जबाट ल्याइएका गाईगोरु शुक्रबार विहान ४५ मिनेटमा ट्रकबाट कटकुवामा झारेको तथ्य खुलेको छ । वीरेन्द्रनगर–१४ कटकुवाको भीरमा गाईगोरु मृत भेटिएपछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो । तर अनुसन्धानको क्रममा ५० मिनेटमै सबै गाईगोरु झारेर फर्केको वयान प्रहरी समक्ष चालक र सहचालकले दिएका छन् ।
न ६ ख ४९४९ नम्बरको ट्रकबाट ३७, ना ६ ख ९९०५ बाट २५, ना ६ ख ९१७७ बाट ३५, ना ६ ख १०१५ बाट २५ र ना ६ ख ६६७४ बाट ३५ गरी १५७ गाईगोरु कटकुवा जंगलमा झारेको वयान दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
‘अनुसन्धानको क्रममा गाईगोरु झार्ने क्रममा ठूलो लापरवाही भएको देखिन्छ’ रावलले भन्नुभयो, ‘दैलेख पु¥याउने भनिएका गाईगोरु कटकुवामै किन झारियो भन्ने विषयमा अनुसन्धान जारी राखेका छौं ।’
प्रारम्भीक अनुसन्धानबाट ट्रकमा पैठारी गरिएका गाईगोरुहरु ढुवानी गर्दा गम्भीर लापरवाही भएको देखिएको रावलको भनाई छ । नेपालगञ्जमा दैलेखको शिरस्थान पठाएका भनिएका गाईगो मगाइएको थियो वा थिएन् भन्ने विषयमा बुझ्ने काम भइरहेको रावलले जानकारी दिनुभयो ।
कति गाईगोरु मृत भेटिए ?
प्रहरीले शुक्रबार विहानदेखी हालसम्म ३५ ओटा गाईगोरुको मृत्यु भएको पुष्टी गरेको छ । यी मध्य १९ गाई, ८ गोरु, ३ बाछा र ५ बाछी छन् । वीरेन्द्रनगरको कटकुवामा १८ र ब्यूरेनी खोलाआसपासको भीरमा १७ गाईगोरु मृत भेटिएका थिए । जिवित रहेका १९६ गाईगोरु नेपालगञ्जमा रहेको काञ्जी हाउसमै फिर्ता गरिएको रावलको भनाई छ । ति गाई गोरु नेपालगञ्ज उपमहानगरपालिका २१ फुलटेक्रा र बेतनीविचको कान्जि हाउसबाट ल्याइएको थियो ।
अदातलबाट म्याद थप
प्रहरीले गाईगोरु ल्याएका पाँच ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका सात जना सवारी चालक र सह–चलकलाई जिल्ला अदालत सुर्खेतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका शुरु गरिएको रावलले जानकारी दिनुभयो ।
प्रहरीले रौतहट चन्द्रपुर नगरपालिकाका घर भएका चालक दामोदर केसी, कोहलपुर नगरपालिका हिमबहादुर जिसी, राप्ती नगरपालिकाका विवेक कुँवर, सोही ठाउँका सागर विश्वकर्मा र पश्चिम नवलपरासीका सत्रुधन चौधरी तथा सहचालक अछामका कृष्ण विसी र पश्चिम नवलपरासीका अमृत चौधरीलाई पक्राउ गरेको छ ।
‘शुरुमा प्रारम्भीक अनुसन्धान थालेका थियौं’ रावलले थप्नुभयो, ‘अब यो घटनामा को–को संलग्न छन् भन्ने विषयमा सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएका छौं ।’ पोष्टमार्टम रिपोर्ट समेत आएपछि गौहत्या नै हो वा अन्य के कारणले गाईहरुको मृत्यु भएको हो भन्ने पुष्टी हुने प्रहरीले जनाएको छ ।
सजाय
मुलुकी अपराध सहिंता २०७४ के परिच्छेद २७ को पशुपंछी सम्बन्धी कसूरको दफा २८९ (१) नम्बरमा बिपरितको कसूरमा सोही ऐन परिच्छेदको दफा २८९ (२) नं. बमोजिम ३ बर्ष सम्म कैद सजायको व्यवस्था रहेको छ ।