सुशील खड्का
सुर्खेत । सुर्खेतको कटकुवा र सुब्बाकुना नजिकैको भीरमा मृत भेटिएका गाईगोरुको छानविन गर्न गृह मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिका संयोजक समेत रहनु भएका उप–सचिव सागरमणि पाठकको टोली सुर्खेत आइपुगेको हो ।
संयोजक पाठकले नेपालगञ्जबाट गाईगोरु मृत भेटिएको बारेमा अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो । ‘बाँकेबाट नै अनुसन्धान शुरु गरिसकेका छौं’ पाठकले भन्नुभयो, ‘सुर्खेतको कटकुवा घटनास्थलको स्थलगत अध्ययन र गाई लैजाने भनिएको ठाउँ दैलेखको शिरस्थानसम्म पुग्नेछौं ।’
समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र आगामी दिनमा यस्ता समस्या उत्पन्न हुँन नदिन सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयलाई दिइने पाठकको भनाई छ । उहाँले हिजो नेपालगञ्जको काञ्जिहाउसको अनुगमन गरेको जनाउनुभयो ।
यसैविच, नेपालगञ्ज उपमहानगर नगरपालिकाले गठन गरेको छानविन टोली समेत सुर्खेतमै छ । समितिले सुर्खेत र दैलेख पुगेर छानविन गरेको समितिका संयोजक विकास आचार्यले जानकारी दिनुभयो ।
उहाँले नेपालगञ्जको काञ्जीहाउसदेखी गाईगारु मृत भटिएका घटनास्थलको स्थलगत अध्ययन गरिएको आचार्यको भनाई छ । उहाँले घटनाको सम्पूर्ण विवरण १५ दिनभित्रै सार्वजनिक हुने उल्लेख गर्नुभयो ।
बाँकेको नेपालगञ्जबाट दैलेख लैजान लागिएका गाईगोरु भदौ १३ गते वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुनाको भीरमा मृत भेटिएका थिए । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २ सय ९१ गाई मध्ये वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुनामा ३६ वटा गाईगोरु मृत अवस्थामा भेटिएका थिए ।