काठमाडौं । नेपाली कांग्रेसकी सांसदले नेपालगञ्जबाट लगिएका गाई सुर्खेतमा मृत भेटिएको घटना गौहत्या हो भन्दै यसमा संलग्नलाई कारबाही गर्न माग गर्नु भएकाे छ ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद डिला संग्रौला पन्तले गाईलाई नियोजित रुपमा भीरबाट खसालेर मारिएको भन्दै गौहत्या भएको आरोप लगाउनु भएकाे हाे ।
‘यस्ता घटना घटाएर जघन्य अपराध नगर्नेलाई आजसम्म किन कारबाही गरिएको छैन ?’ उहाँले प्रश्न गर्नुभयाे ‘नेपालमा यसरी नै गौहत्या बर्जित हुँदा पनि यो घटना घट्दै जानु अत्यन्त निन्दनीय छ ।’
पशु अधिकारको दृष्टिले पनि उक्त घटना निन्दनीय भन्दै सांसद पन्तले सरकारले गठन गरेको छानबिन समिति के गर्दैछ भन्ने प्रश्न गर्नुभयाे । ‘सरकारले उक्त घटनाको सन्दर्भमा छानविन समिति गठन गरेको छ, छानबिन समिति के गर्दैछ’ उहाँले भन्नुभयाे ‘थामथुम गर्ने समिति गठन गर्ने तर दोषीलाई कडा कारबाही नहुने हो भने अर्को धार्मिक आन्दोलन, अर्को साँस्कृतिक आन्दोलन जान सक्छ, यो कुरालाई पनि विचार गरियोस् ।’
केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेखको शिरस्थानतर्फ लगिएका गाईमध्ये हालसम्म ३६ वटा सुर्खेतको सानो ब्युरेनी र कटकुवामा मृत भेटिएका छन् ।