दैलेख । नेपालगन्जदेखि दैलेख ल्याउँदै गर्दा सुर्खेतको कटुवामा भीरबाट लडाएर मारिएका भनिएका गाईगोरु दैलेखमा उपलब्ध गराइदिन भन्दै जिल्ला समन्वय समिति दैलेखले सिफारिस नेपालगन्ज उपमहानगरपालिकालाई पठाएको रहस्य बाहिर आएको छ। समन्वयले भदौ ८ गते उपमहानगरपालिकालाई स्वच्छ गाई दैलेख पठाइदिन भन्दै सिफारिस पठाएको पत्र भेटिएको हो ।
समन्वयले समिति दैलेखले जिल्लामा रहेका धार्मिकस्थलमा पाल्नका लागि र नारायण नगरपालिका लगायतका क्षेत्रमा व्यावसायिक गाईपालन प्रयोजनका लागि महानगरपालिकाबाट स्वच्छ गाई उपलब्द गराई सहयोग गरिदिन भन्दै समन्वयको सिफारिसमा उल्लेख गरिएको छ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले किसानका हितमा राम्रो काम गर्ने उद्देश्य राख्दाराख्दै प्राविधिक रूपमा केही त्रुटि भएकोले गाईगोरु मरेका बताए। यसलाई अन्यथा नबुझ्न सबैलाई अनुरोध गर्दै उनले उन्नत गाई दैलेखका किसानलाई निःशुल्क दिन सकिने बारेमा समन्वयले स्थानीय तहसँग समन्वय गर्न तयार रहेकाले सिफारिस गरेको बताए ।
‘धेरैलाई फोनबाट समन्वय भएको थियो नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दैलेखकै भएकाले उहाँले दैलेखका किसानको हितका लागि काम गर्ने बारेमा मौखिक रूपमा जानकारी भएको थियो । सबैसँगको समन्वयअनुसार समन्वयले नेपालगन्ज उपमहानगरपालिकाबाट गाई मगाइएको हो’ उनले भने। #थाहाखवरबाट