सुशील खड्का
सुर्खेत । बसपार्कमा यात्रुलाई दुःख दिने, तान्ने सवारी चालक र सहचालकलाई प्रशासनले सार्वजनिक मुद्दा लगाउने भएको छ । गन्तव्य जान बसपार्क पुगेका यात्रुहरुलाई अभद्र व्यवहार गरिरहेको जनगुनासो आएकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतले चालक र सहचालकलाई सार्वजनिक मुद्दा लगाउने भएको हो ।
चाडपर्व लक्षित यात्रु सहायता कक्षको उद्घाटन समारोहमा बोल्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वशन्त अधिकारीले बसपार्क पुगेका यात्रुहरु तान्ने र दुःख दिने शैलीको सुधार गर्न आग्रह गर्नुभएको छ ।
‘दैनिक विहान साँझ सुर्खेत बसपार्कको अनुगमन गर्दा यात्रुहरुलाई चालक र सहचालकले निकौ सास्ती दिइरहेको देखेको छु’ अधिकारीले भन्नुभयो, ‘परिवारसंगै दशैं र तिहार मनाउने भए यात्रुहरुलाई कुनै प्रकारको दुःख नदिुनहोस् । यदि सुध्रिनु भएन भने सार्वजनिक मुद्दा लगाउँछु ।’
हिन्दुहरुको पर्व दशैं र तिहार नजिकीदै गर्दा यात्रुहरुलाई सहज यात्रा गर्ने गरी सेवा प्रवाह गर्न प्रजिअ अधिकारीको आग्रह थियो । प्रजिअ अधिकारीले सम्पूर्ण यातायात ¬व्यवसायी समिति र प्रा.लि.लाई टिक काउन्टरमा परिचय पत्र लगाएर मात्रै टिकट काट्न निर्देशन दिनुभयो ।
नक्कली टिकट काटेर यात्रुहरुलाई गन्तव्य पुर्याइदिने भन्दै दुःख दिने गरेकाले सबै समिति र प्रा.लि.लाई आफ्ना कर्मचारीहरुलाई परिचय पत्र लगाउन उनको निर्देशन थियो ।
बसपार्कमा यात्रु सहायता कक्ष
जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतले सुर्खेत बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वमा यात्रुका गुनासाहरु सुन्ने उदेश्यले कक्ष सञ्चालनमा ल्याएको जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिनुभयो ।
उहाँले चाडपर्वमा यात्रु बढी राख्ने र तिव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुन सक्ने भएकाले रोक्न यात्रु र सवारीधनीलाई सजकता अपनाउन आग्रह गर्नुभयो । कक्षमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा विहान ६ बजेदेखी साँझ ६ बजेसम्म बसपार्कमा गुनासा सुन्ने र त्यसको समाधान गर्नेछन् ।