सुर्खेत । ठूला पर्व दशैंतिहार भित्रदै गर्दा सुर्खेत प्रहरीले घर नै खाली गरेर बाहिर नजान नागरिकलाई अपिल गरेको छ । चाडपर्वमा चोरी र लुटपाटका घटना बढ्ने भएकाले सकेसम्म घर कुरुवा राखेर मात्रै बाहिर जान जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) दिल्लीराज पन्तले अपिल गर्नुभएको हो ।
चाडपर्वमा घर नै खाली गर्दा चोरीका घटना हुन सक्ने भएकाले घरको सुरक्षाका लागि सजकता अपनाउन नागरिकहरुलाई उहाँको आग्रह छ । ‘प्रहरीले चाडपर्व लक्षित विषेश सुरक्षा योजना लागु गरिसकेको छ’ एसपी पन्तले भन्नुभयो, ‘सबै ठाउँमा प्रहरीको तत्काल उपस्थित नहुन सक्छ, त्यस्तो बेला चोरीका घटना हुन सक्ने भएकाले कम्तीमा घर कुरुवा राखेर बाहिर जान नागरिकलाई अनुरोध गर्दछु ।’
सूचना नै शक्ति भएकाले आफ्नो टोल र घर आसपासमा शंकास्पद व्यक्तिको आवतजावत बढेमा तत्काल प्रहरीलाई खवर गर्न उहाँले अपिल गर्नुभयो । चाडपर्वमा जुवातासका खेल्न नै नदिने प्रतिवद्धता एसपी पन्तको छ । उहाँले चाडपर्वमा वा अन्य समयमा टाेले गुण्डागर्दी गर्नेलार्इ कारवाही गर्ने पन्तले जानकारी दिनुभयाे ।
जुवातास खलेमा कानुनअनुसार कडा सजाय दिलाएरै छाड्ने चेतावनी पन्तको छ । अवैध घरेलु मदिरा नियन्त्रणका लागि विशेष टोलीले निगरानी राखिरहेको जानकारी दिनुभएका एसपी पन्तले दुर्घटना न्यूनिकरण गर्न राजमार्ग गस्ती टाेली परिचालन गर्न लागेको उल्लेख गर्नुभयो । टाेलीले कर्णाली र रत्न राजमार्ग, दैलेख तथा जाजरकाेट सडक खण्डमा नियमित गस्ती गर्नेछ ।