भारतको केन्द्र सरकारले अनिश्चित कालका लागि सुकेको प्याज निर्यात बन्द गरेको छ । प्याजमा पूर्ण रूपले भारतमा निर्भर नेपालमा यसको असर तत्कालै देखिने व्यवसायीहरूको भनाइ छ । पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अनियन्त्रित रूपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो । निर्यात रोकेपछि भारतमा मूल्य घट्ने अनुमान गर्दै भारतीय विश्लेषकहरूले सरकारी कदमको स्वागत गरेका छन् । तर, यसबाट काठमाडौंलगायत नेपालका प्रमुख सहरमा प्याज अभाव हुने देखिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारस्थित प्याजको थोक विक्रेता प्रकाश गजुरेलले नेपाल प्याजमा पूर्ण रूपले भारतमा निर्भर रहेको बताए । ‘मागको तुलनामा मुलुकभित्र प्याजको उत्पादन एक प्रतिशत पनि छैन,’ उनले भने, ‘वर्षभर भारतबाट आयात गरेर नेपालीलाई खुवाइरहेका छौँ ।’ यतिवेला व्यवसायीसँग प्याज मौज्दातमा समेत नभएको उनको भनाइ छ । त्यसैले भारतले निर्यात रोकेको असर सोमबार बिहानैबाट काठमाडौंको बजारमा देखिने उनले बताए ।
व्यवसायीले भारतको कानपुर, नासिक, इन्दोरलगायतबाट प्याज ल्याइरहेका थिए । तर, आइतबार बिहान ९ बजेबाट भारतीय व्यवसायीले नेपाललाई प्याज दिन नसक्ने जवाफ दिएका छन् । ‘हिजोसम्म प्याज आयात रोकिने कुनै सुरसार थिएन, अचानक आज बिहान भारतीय व्यवसायीसँग कुरा गर्दा प्याज निर्यातमा सरकारले कडाइ ग¥यो, दिन सक्दैनौँ भन्ने जवाफ आयो,’ गजुरेलले भने ।
उनका अनुसार भारतबाट दैनिक ८० देखि ९० टन प्याज आयात भइरहेको छ । काठमाडौंलगायत प्रमुख सहरको माग पनि बढीमा ९० टन हो । ‘हामीले प्रत्येक दिनको मागलाई हेरेर प्याज आयात गर्ने गर्छौँ,’ उनले भने, ‘त्यसैले भोलि–पर्सिका लागि पनि अर्डर गर्न खोज्दा पाएनौँ । गोदाममा पनि मुस्किलले ६०–७० टन मात्रै होला । यति परिमाणले एक दिन धान्न सकिन्छ ।’
कृषिप्रधान देशमा वार्षिक सवा पाँच अर्बको प्याज आयात
नेपालमा प्याज उत्पादन अत्यन्त कम छ । त्यसकारण आयातमा निर्भर हुनुपरेको छ । भन्सार विभागका अनुसार गत आव ०७५/७६ मा पाँच अर्ब २६ करोड ९६ लाख रुपैयाँको प्याज आयात भएको थियो । सो वर्ष आयातीत १६ करोड ७९ लाख किलो प्याजमध्ये ९५ प्रतिशत भारतबाट आएको थियो । त्यस्तै, आव ०७४/७५ मा चार अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो । नेपालमा मुस्किलले पाँच प्रतिशत प्याज चीनबाट आउँछ । चिनियाँ प्याज चाँडै सड्ने र स्वाद पनि नहुने भएकाले उपभोक्ताले मन पराउँदैनन् ।
भारतले यसकारण बन्द ग-यो निर्यात
भारतमा यतिवेला तरकारीमध्ये सबैभन्दा महँगो मूल्यमा प्याज बिक्री भइरहेको छ । अन्य तरकारीको तुलनामा प्याजको भाउ ठूलो अन्तरले अकासिएपछि जनआक्रोश बढेको छ । बजारमा प्याजको परिमाण बढाएर मूल्य नियन्त्रण गर्न सरकारले आइतबार बिहान निर्यात रोक्ने निर्णय गरेको हो । ‘प्याजको निर्यात नीतिमा संशोधन गरिएको छ र अर्काे आदेश नभएसम्मका लागि निर्यातमा रोक लगाइएको छ । प्याजको सबै प्रकारको निर्यातमा तत्कालबाटै प्रतिबन्ध लगाइएको छ,’ केन्द्रीय वाणिज्य मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ ।
भारतमा प्याजको मूल्य प्रतिकिलो ८० भारुसम्म पुगेको छ । प्याजको बढ्दो मूल्यका कारण केन्द्र सरकार आलोचित बनिरहेको छ । यही हप्ता प्याजको बढ्दो मूल्य नियन्त्रण गर्न केन्द्र सरकारले विभिन्न राज्यलाई ३५ हजार टन प्याज भण्डारणगृहबाट झिकेर प्रयोग गर्न निर्देशन दिएको थियो । तर, त्यसले पनि मूल्य नियन्त्रण नभएपछि आइतबारदेखि निर्यात रोकिएको हो ।
कृषि मन्त्रालयका प्रवक्तातेजबहादुर सुवेदी भन्छन्–चीनबाट प्याज ल्याउने प्रयत्न गर्छाैँ
हामीले प्याज उत्पादनमा खासै जोड दिएका छैनौँ । यस वर्षचाहिँ बिउ उत्पादनका लागि कार्यक्रम थालिएको छ । तर, यसले अहिलेको समस्या सम्बोधन गर्दैन । हामी भारतलाई निर्यात खुला गर्न आग्रह गर्न सक्छौँ । तर, आन्तरिक खपत नै नपुगेकाले निर्यात बन्द गरेको अवस्थामा हाम्रो आग्रह खासै सुनिएलाजस्तो लाग्दैन । त्यसैले, वैकल्पिक बजारबारे हामीले सोच्नै पर्छ । त्यो भनेको चीनबाट ल्याउने हो । बजारमा हुँदै नभएपछि चिनियाँ प्याज पनि खपत भइहाल्छ ।