☰ open Loading... 15 November 2024|  

सुरक्षित छैनन् कर्णालीका छोरीचेली, चिनेजानेकाबाटै बढी बलात्कार
  | ४ कार्तिक २०७६, सोमबार ११:१३

सुशील खड्का
सुर्खेत । गएको फागुनमा वीरेन्द्रनगरमा एक किशोरी बलात्कृत भइन् । गाउँकै चिनेजानेका साथीले घुम्न लैजाने भन्दै ति किशोरीमाथि बलात्कार गरे । किशोरीको उजुरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार किशोरी र बलात्कारमा संलग्नहरु चिनेजानेका हुन् । चिनेजानेका भएकै कारण उनीहरुलाई विस्वास गरेर सँगै घुम्न निस्केकी ति किशोरीले आफ्नो अस्मिता जोगाउन सकिनन् ।


गत असोज २४ गतेराती सुर्खेतमा एक बालिकाले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिइन् । उजुरीपछि प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरकी १३ वर्षीया ति बालिका पनि चिनेजानेकाहरुसँगै घुम्नका लागि गोठीकाँडा पुगेकी थिइन् । सोहीक्रममा आफूमाथि बलात्कार भएको उनले प्रहरीलाई बयान दिएकी छन् ।

‘वीरेन्द्रनगरबाट अटोमा गोठीकाँडा गएको र त्यहाँको प्रहरीले बालिकासहित नियन्त्रणमा लिएको थियो’ प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धान जारी छ, चिनजानमै विस्वास गरेर घुम्न गएको बेला यो घटना भएको देखिन्छ ।’ यी प्रतिनिधिमुलक घटना हुन् । पछिल्ला दिनमा कर्णालीमा बालिका, किशोरी र महिलाहरुमाथि बलात्कारका घटना बढ्दै गएका छन् । प्रहरीमा दर्ता भएका उजुरीका आधारमा पनि बलात्कारका घटना बढेको देखाएको छ ।

तर अधिकांश घटनाहरु गाउँघरमै लुकाउने गरिएका कारण बलात्कारका धेरै घटनाहरु बाहिर नआउने गरेको प्रहरीको भनाइ छ । चिनेजानेका, आफन्त, नक्कली प्रेमी र कतिपय अवस्थामा परिवारका सदस्यबाटै बालिका तथा किशोरीहरु बलात्कृत हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सामाजिक संजालको दुरुपयोग र विवाह गर्ने बहनामा बालिका र किशोरीहरु बलात्कृत हुने गरेको पाइएको हो ।

‘विस्वास गरेकाहरुबाटै बालिका र किशोरीहरु असुरक्षित छन्’ प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्,‘चिनेजानेकाहरुबाटै धेरै बलात्कारका घटना भएका छन्, जसलाई विस्वास गर्छन् उनीहरुबाटै महिला र बालिकाहरु बलात्कृत हुन्छन् ।’ विस्वास गरेकाहरुले नै विस्वासघात गर्ने गरेको महिला अधिकारकर्मीहरु बताउँछन् । महिला अधिकारकर्मी पवित्रा शाही भन्छिन्,‘आफन्त र चिनेजानेकाहरुको पनि विस्वास छैन, कतिपय बालिकाहरु परिवारका सदस्यबाटै सुरक्षित छैनन् । विवाह गर्ने प्रलोभन देखाएर पनि किशोरीमाथि बलात्कार हुने गरेको छ, आफ्ना भनिएकाबाटै बालिकाहरु सुरक्षित छैनन् ।’

कर्णाली प्रदेशका बालिका, किशोरी तथा महिलाहरुमाथि हुने बलात्कारका घटना वृद्धि भएका छन् । पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार कर्णालीका सुर्खेत, सल्यान र रुकुमपश्चिममा बलात्कारका घटना वृद्धि भएका हुन् । तीन वर्षको अवधिमा कर्णालीमा बलात्कारका चार सय १७ वटा मुद्दा दर्ता भएका छन् । यही अवधिमा बलात्कार गरेको आरोपमा चार सय ५९ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । उनकाअनुसार यी मध्ये दुई सय ९० वटा जवरजस्तीकरणी र एक सय २७ वटा जवरजस्तीकरणी उद्योगका घटना भएका हुन् । जवरजस्तीकरणीका घटना बढी हुने जिल्लामा सुर्खेत पहिलो र सल्यान दोस्रो छन् ।

चालु आर्थिक वर्षमा सुर्खेतमा १७, दैलेखमा पाँच, रुकुमपश्चिममा चार, जाजरकोट, सल्यान र कालिकोट तीन÷तीन तथा जुम्ला, हुम्ला र मुगुमा एक÷एक मुद्दा दर्ता भएका छन् । प्रहरीले ६ महिनामा ३९ जनालाई पक्राउ गरिसकेको तिम्सिनाले जानकारी दिए । जनघनत्व बढ्दै गएपछि सुर्खेतमा बलात्कारका घटनाहरु वृद्धि भएको प्रदेश प्रहरीको भनाई छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसूरको दफा २१९ मा जवरजस्ती करणी गर्न नहुने उपदफा २ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला बालिकालाई जवरजस्तीकरणी गरेको मानिने उल्लेख छ ।

सुरक्षामा कुनै कसर बाँकी राख्दैनौं

पूर्णचन्द्र जोशी, डीआईजी कर्णाली प्रदेश प्रहरी कार्यालय

बलात्कारका घटना न्यूनिकरण गर्न कर्णालीका सबै प्रहरी कार्यालयमार्फत जनचेतनामुलक अभियानहरु सञ्चालन गर्दै आएका छौं । प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले शहर, गाउँ र टोल÷टोलमा पुगेर प्रहरीले साझेदारी अभियान पनि जारी राखेको छ । हामीले मुख्यगरी विद्यालयमै पुगेर सचेतनामुलक अभियान संचालन गरिरहेका छौं ।

संख्यामा त सुर्खेत, सल्यान र रुकुम पश्चिममा बलात्कारका घटना बढी भएका छन् । तर कर्णालीका सबै बालिका, किशोरी र महिलाहरुलाई यौनजन्य हिंसाबाट जोगाउने र उनीहरुलाई सुरक्षित राख्न प्रहरीले कुनै कसर बाँकी राख्दैन । यसलाई न्युनिकरण गर्न विभिन्न संघसंस्था र स्थानीय तहसँग सहकार्य गरेर चेतनामुलक अभियानलाई तीव्रता दिएका छौं ।

प्रहरीेको प्रयासले मात्र अपराध नियन्त्रण सम्भव छैन । यसका लागि समुदायले पनि प्रहरीलाई यस्ता सुचना उपलब्ध गराउन आवश्यक छ । अर्कोतर्फ यस्ता खालका घटनाहरु प्रहरीसम्म आउँदैनन् ।

अर्थात समुदायमा नै मिलाउने गरिन्छ । यसकारण म यस्ता घटना भएमा लुकाउनुभन्दा बाहिर ल्याएर पीडकलाई कानुनअनुसार कारवाहीका लागि सहयोग गर्न सबै नागरिकहरुलाई अनुरोध गर्दछु । छोरीहरुको सुरक्षाका लागि प्रहरीले विशेष अभियान चलाउने छ । बलात्कार र यौनजन्य हिंसा रोकथाम र नियन्त्रणका लागि हामी कुनै कसर बाँकी राख्ने छैनौं ।

 

 

बालकलाई पनि सचेत बनाऔं

पवित्रा शाही, कार्यकारी निर्देशक आवाज संस्था, सुर्खेत

मुख्यगरी बालिकाहरु बढी बलात्कृत भइरहेका छन् । पछिल्लो समय उमेर नपुगेका बालिकाहरुलाई विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने घटनाहरु दोहोरिरहेका छन् । हामीकहाँ आउने १० वटा घटना मध्ये सात जना त बालिकाहरु नै पीडित हुन्छन् । विशेषगरी १२ वर्षदेखी १८ वर्ष उमेर समूहका बालिकाहरु बलात्कारमा पर्ने गरेका छन् । विगतमा महिलाहरु बढी बलात्कृत हुन्थे । हिजोआज बालिकाहरु बढी पीडित बन्न थालेका छन् । उनीहरु पीडित हुनुको मुख्यकारण विवाहको प्रलोभन नै हो । कानुनमै स्पष्ट रुपमा १८ वर्षमूनिका बालिकाहरुको सहमति वा मञ्जुरी लिए पनि यौनहिंसा मानिन्छ ।

अधिकांश ग्रामिण क्षेत्रका बालिकाहरु असुक्षित छन् । त्यसमा पनि दलित र विपन्न समुदायका बालिकाहरु बढी बलात्कृत हुने गरेका छन् । जंगल र शहरका होटलहरुमा लगेर बालिकालाई बलात्कार गर्ने गरिएको छ । कतिपय घटनाहरु त ग्रामिण क्षेत्रमा मिलाउन खोज्दा बालिकाहरु असुरक्षित छन् ।

कानुन भए पनि प्रभावकारी कार्यान्वयन नहुँनु नै बालिकाहरु बलात्कारको शिकार हुनु परेको हो । अब यी घटनाहरु रोक्न र बालिकाहरुलाई सुरक्षित राख्न विद्यालय स्तरमा जनचेतनामुलक कार्यक्रम संचालन गर्नु आवश्यक छ । अब बालकहरुलाई पनि उमेर नपुगेका बालिकाहरुलाई यौन प्रस्ताव राख्नु वा बलात्कार गर्नु कानुनी रुपमा दण्डनीय हो भन्ने विषय बुझाउन जरुरी छ । बालिकासँगै अब बालकलाई पनि सचेतना दिन आवश्यक छ ।

याे समाचार सुर्खेतबाट प्रकाशित हुने युगअाह्वान दैनिकमा प्रकाशन भइसकेकाे छ