☰ open Loading... 15 November 2024|  

कर्णाली : दुई ठूला पर्वमा ७३ घटना
  | १६ कार्तिक २०७६, शनिबार १४:४६

सुशील खड्का
सुर्खेत । कर्णालीमा एक महिनाको अवधिमा दश जिल्लामा ७३ वटा घटनाहरु भएका छन् । दुई ठूला पर्व दशैँ र तिहारमा सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । चाडपर्व लक्षित विशेष सुरक्षा रणनीति अपनाएकै कारण ठूला अपराधिक घटनाहरु हुन नपाएको प्रारम्भिक निष्कर्ष कर्णाली प्रदेश प्रहरी कार्यालयको छ ।

कर्णालीका दश जिल्लामध्य सुर्खेतमा बढी घटनाहरु भएका छन् । कर्णालीका १० जिल्लामा भएका ७३ घटनामध्य २४ घटना आत्महत्याका हुन् । सुर्खेतको खोलीगाउँमा जुवाडेबाट प्रहरीले ८१ हजार नगदसहित ६ जनालाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ ।

कार्यालयकाअनुसार तिहारमा मात्रै सुर्खेतमा १६, सल्यानमा ६, मुगु र जुम्लामा तीन÷तीन, दैलेख र जाजरकोटमा दुई÷दुई तथा कालिकोटमा एक अपराधिक घटना भएका छन् । कुटपिट, भवितव्य तथा सवारी ज्यान, सवारी दुर्घटना हातहतियार बरामद, लागुऔषध बरामद जस्ता घटनाहरु दुई ठूला पर्वमा भएको प्रदेश प्रहरीको भनाई छ ।

तिहारको समयमा जुवातास बढी खेलिने र ठूलो रकममा होडबाजी हुने भएकाले अपराध पनि बढ्ने भन्दै प्रहरीले जुवाडेलाई मुख्य निगरानीमा राखेको हो । यसका लागि जुवा खेलाइने सम्भावित स्थान र जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न हुने व्यक्तिहरुमाथि निगरानी बढाइएको थियो ।

कर्णालीका दश वटै जिल्लामा प्रहरीले वस्तुगत अवस्था, सम्भावित अपराधको अध्ययन गरेर सुरक्षा कार्ययोजना तयार पारेर तीनहजार चारसय प्रहरी परिचालन गरिएको थियो । अपराधिक गतिविधि गर्ने, हुलदंगा मच्चाउने र पटक्का पट्काएर तर्साउनेमाथि कारबाही गर्न प्रहरीलाई कडा निर्देशन दिएको थियो ।

चक्कु प्रहारबाट घाइते रानाकाे मृत्यु

सुर्खेतको वीरेन्द्रनगर–१०, दिपनगरमा चक्कु प्रहारबाट घाइते भएका चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ । दिपनगरमा मंगलबार देउसी भैली खेल्नेक्रममा चक्कु प्रहारबाट घाइते भएका रानाको भारतको लखनऊमा विहीबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगरका निर्मल सोनी, केशव खनाल र प्रेम गुरुङले रानालाई देउसी भैलो खेलिरहेको अवस्थामा एक्कासी पछाडीबाट टाउँकोमा चक्कु हानेर घाइते बनाएका थिए ।

चक्कु प्रहार घटनामा संलग्न मध्ये केशव खनाल र प्रेम गुरुङलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीरवि रावलले जानकारी दिए ।

उनले चक्कु प्रहार घटनाका फरार निर्मल सोनीको  खोजी कार्य जारी रहेको बताए । उनकाअनुसार रानाको उपचारका क्रममा भारतमा मृत्यु भएकाले कर्तव्य ज्यान कुसुर मुद्दामा थप अनुसन्धान भईरहेको छ ।

 

विगतभन्दा कम घटना

लोकनाथ तिम्सिना, प्रहरी नायब उपरीक्षक

विगतका वर्षभन्दा यो वर्ष कर्णालीमा अपराधिक घटनाहरु न्युन भएका छन् । नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन व्यापक मात्रामा प्रहरी परिचालन गरिएकाले अपराधिक घटनाहरु ठूला पर्वमा हुन पाएनन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहँदा पनि अपराधिक घटनाहरु विस्तारै कम भएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय मातहत रहेका सबै प्रहरी यूनिटलाई जनचेतनामुलक कार्यक्रमहरु पुनः निरन्तरता दिँदैछौं ।

प्रहरी साझेदारी कार्यक्रमको उदेश्य नै टोल, गाउँ र समाजमा नागरिकसंग हातेमालो गर्दै अपराधिक घटनालाई निरुत्साहित गर्नु नै हो । तर कर्णालीमा आत्महत्याका घटना भने विकराल बनेको छ ।

अन्य घटनाको तुलनामा कर्णालीका दश जिल्ला मध्य सुर्खेतमा आत्महत्याका घटना बढ्दो क्रममा छन् । दुई ठूला पर्व दशैँतिहारमा २४ जनाले आत्महत्या गरेका छन् ।

यी मध्य सबैभन्दा बढी सुर्खेतमा भएका घटना हुन् । यो सोचनिय विषय बनेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले अशिक्षा, बेरोजगारी, प्रेममा धोका जस्ता समस्याले आत्महत्या गरेको देखाउछ ।