☰ open Loading... 26 April 2024|  

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण शुरु गरिँदै
  | १६ कार्तिक २०७६, शनिबार १५:०५

डेस्क सम्वाददाता
दैलेख। दैलेखको पंचकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु गर्न थालिएको छ । प्रारम्भिक चरणको अध्ययन गरेको अनुसन्धान टोलीले अव, ३ महिना जिल्लामै बसेर अन्वेषणको काम शुरु गर्न थालेको हो ।

उनीहरुले दुई स्थानमा प्राविधिक र कामदार बस्ने क्याम्प नै खडा गर्दै छन् । त्यसका लागि आवश्यक ब्यवस्थापन कार्य दैलेखको डुंगेश्वर गाउँपालिका र दुल्लु नगपालिकामा अन्तिम चरणमा छ ।

क्याम्पमा कामदार र प्राविधिक टोली बस्ने छ भने, विशेषज्ञ टोलीलाई सदरमुकामका होटलमा राखीने तयारी भईरहेको जनाईएको छ । भूगर्व विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले अति सवेदनशिल भएकाले तेल र ग्यास अन्वेषणका लागि स्थलगत रुपमा क्याम्प बनाएर टोली बस्ने बताउनुभयो ।

अन्वेषणमा सहभागी कामदार र प्राविधिकहरुका लागि टेन्ट निर्माण र शौचालय, खानेबस्ने ठाउँ बनाउने काम भईरहेको विजिपी नेपालका कार्यक्रम संयोजक सूर्यमणि लामेछानेले बताउनुभयो ।

‘अहिले ब्यवस्थापनको कामहरु भईरहेको छ’ लामेछानेले भन्नुभयो, ‘तिहार लगत्तै अन्वेषणको काम हुनेछ ।’ दुई स्थानमा अन्वेषणका लागि आउने टोली बस्नेगरि ब्यवस्थापन मिलाईएको उहाँको भनाई छ । दैलेखको दुल्लु नगरपालिकाको हस्पिटल नजिक र डुंगेश्वर गाउँपालिकाको चुप्रामा क्याम्प खडा गरिएको छ ।

दुवै स्थानमा अहिले बस्नका लागि निर्माण कार्य अन्तिम चरणमा छ । दुवै स्थानमा बस्नका लागि जग्गा पहिचान गरि टेन्ट निर्माण गर्ने कार्य चलिरहेको छ । चुप्रामा १२ वटा टेन्ट राख्ने तयारी भैईरहेको छ । ४ दिनदेखी अन्वेषणमा आउने प्राविधिक र कामदारका लागि बस्ने, खाने, शौचालय, क्याम्प घेरवारका लागि निर्माण कार्य थालिएको छ ।

चुप्रामा ६ वटा शौचालय, ८ वटा धारा निर्माण गर्न लागिएको छ । चिनियाँ टोली ३० देखी ३५ जना आउने र अरु नेपाली टोली रहने कार्यक्रम संयोजक लामेछानेले जानकारी दिनुभयो । कामदार स्थानीयहरु प्रयोग गरिने छ । अन्वेषणका लागि आवश्यक डिल मेशिन कार्तिक मसान्तसम्म नेपाल आउने जनाईएको छ ।

दैलेखमा अन्वेषण कार्यका लागि चिनियाँ र नेपाली टोली आएपछि उमंग्ग छाएको छ । अन्वेषण कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनी कस्तो भनेर एमआरआई जस्तो सर्वे गर्ने भुगर्भ विभागले जनाएको छ । अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ ।

जसले भण्डारण कति छ कहाँसम्म फैलिएको छ । कहाँबाट निकाल्न मिल्छ आदि कुराहरु पत्ता लगाईने भुगर्भ विभाग पेट्रोलियम परियोजना प्रमुख रजौरेले उल्लेख गर्नुभयो ।

अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनीमा कम्तिमा ५ देखी २० किलोमिटरसम्म अध्यायन गर्नेछन् । चीनको चाईना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भुगर्वविद् टयान फुएनले गरेका छन् । अन्वेषण अवधि ३ वर्षको रहने भुगर्भ विभागले जनाएको छ ।