काठमाडौं । लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत अब नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ ।
शिरमा रिबन सालको पछ्यौरी
हिराजस्तो झललल
सम्झिरहने त्यो मुहार
अब मैले बिर्सूं कसरी
ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गर्न लागिएको हो ।
“मैले हुँर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,” नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, “आमाले लमजुङ तिरको भाका भनेर गुनगुनाउनु भएको यसलाई पछि मैले पोखरामा पनि केहि ठाउँमा सुनेको याद छ ।” धेरै वर्षपछि आफू लमजुङ पसगाउँ जाँदा त्यही भाकामा एउटी चेलीले गाउँदा भने त्यसले आफ्नो मर्ममै छोएको गुरुङ सुनाउँछन् ।
त्यो रात आमा समूहको सांगीतिक टोली लालटिन बोकेरै नाचगान देखाउन आइपुगेको थियो ।
‘लोकगीतले डाँडा–काँडा, गाउँ–बेँसीको यात्रा गर्छ र त्यो यात्रासँगै आफूलाई फेर्दै पनि लैजान्छ’ भन्ने प्रचलित भनाइ नै छ । यसरी फेरिँदा आफूले उक्लेको डाँडा वा तरेका नदीहरुको स्वाद यसका भाकाहरुमा मिसिन्छन् । “हो, त्यसरी नै मैले त्यो रात सुनेको यहि गीतको भाकामा केहि फेरबदल थियो,” गुरुङले थपे, “त्यसबाहेक गीतका शब्दहरु एक किशोरीको स्वरबाट भित्रैदेखि मन छुनेगरि निस्किरहेको थियो ।”
पानी है पर्यो
कहाँ पर्यो त्यो बूँद
डाँडा काँडा सररर
रसायो म रुँदा
शिरमा रिबन सालको पछ्यौरी
समीको छेउ छेउ
पिपलु र वर पनि
वालखैमा धररर
बिग्रियो घर पनि
शिरमा रिबन सालको पछ्यौरी
यसरी गीत तयार भएको थियो ।
नेपाली लोकगीतहरुमा थुप्रै आगन्तुक शब्दहरुको पहिलेदेखि प्रयोग हुँदैआएको छ । गण्डकी क्षेत्रमा त्यसको श्रेय सबैभन्दा धेरै लाहुरेहरुलाई जान्छ । “यो गीतमा पनि त्यो प्रभाव आएको छ,” गायक गुरुङ थप्छन्, “अंग्रेजीमा पछ्यौरीलाई ‘शल’ भनिन्छ जसलाई अग्रजहरुले टिपेकै हिसाबले यसमा ‘सालको पछ्यौरी’ प्रयोग हुनपुगेको हो ।”