| १९ कार्तिक २०७६, मंगलवार १८:३५
रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५, लाइतको एक युवा क्लबले दशैं तथा तिहारमा मयूर नाच नाची संकलन भएको रकम विद्यालयलाई सहयोग गरेको छ। स्थानीय समाज परिवर्तन युवा क्लबले दशैं र तिहारको अवसरमा वडाका घरघरमा मयूर नाच नाचेर संकलन गरेको १ लाख ३७ हजार रकमबाट व्यवस्थापन खर्च कटाएर बचत भएको ८३ हजार रकम स्थानीय जनस्थापना आधारभूत विद्यालयलाई सहयोग गरेको क्लबका सहसचिव टेकबहादुर खड्काले बताए।
विद्यालयको भौतिक तथा अन्य सुधारको लागि उक्त रकम एक कार्यक्रमका बीच वितरण गरिएको हो। रकम सहयोग गरिएपछि विद्यालयले खुसी व्यक्त गर्दै आवश्यक कार्यमा रकम खर्च गर्ने बताएको छ। देउसीभैलो तथा मयूर नाचमार्फत संकलन भएको रकम भोजभतेरलगायतका अन्य कार्यमा खर्च गर्ने संस्कार बढिरहेको बेला सामाजिक कार्यमा लगानी गर्दा सकारात्मक सन्देश जाने क्लबले जनाएको छ।
थाहाखबरबाट