☰ open Loading... 15 November 2024|  

उप–मेयर ढकाल पढाउन कक्षा कोठा पुगेपछि…
  | २६ कार्तिक २०७६, मंगलवार १७:४१

सुशील खड्का
सुर्खेत । म‌ंगलबार दिउँसाे १२ बजे वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल विद्यालयलाई जानकारी नदिएरै वीरेन्द्रनगर–११ स्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयमा पुग्नुभयो । एक्कासी पुग्दा विद्यालय परिसरमा रहेका विद्यार्थी उहाँतर्फ हेरेरै कानेखुसी गर्न थाले ।

विद्यालयका शिक्षकहरुलाई समेत जानकारी नगराएर विद्यालय हातामा प्रवेश गर्नुभएका ढकाल प्रधानाध्यापकलाई आफू आउनुको कारण बताउनुभयो । संयोगबस कुनै बेला नेवारे स्कुलमा ढकाललाई पढाउनु भएका विद्यालयका प्रधानाध्यापक नेत्रमणि चालिसेले जानकारीविनै विद्यालयको आउनुको कारण जान्न खोज्नुभयो ।

तर ढकालले जनप्रतिनीधिप्रति विद्यार्थीको धारणा र पाठ्यक्रममै समावेश भएको विषयका बारेमा विद्यार्थीलाई पढाउन आएको जानकारी गराउनुभयो । त्यसपछि प्रधानाध्यापक चालिसेले फूल मालाले स्वागत गर्नुभयो ।

 

विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको कक्षा कोठा पुगेर ढकालले आफूबारे जानकारी गराउनुभयो । तर कतिपय विद्यार्थीले चिनेको र नचिनेको समान प्रश्न तेर्साए । ढकालले आफू जनप्रतिनीधि रहेको र विद्यालयमा विद्यार्थीहरु साक्षत्कार गर्न आएको स्पष्ट पार्नुभयो ।

विद्यार्थीहरु त्यसपछि ढुक्कले ढकाललाई अनेक प्रश्न गरे । केही सामान्य काम बारे थाहा पाएपनि स्थानीय सरकारबारे कितावमा पढेका उप–प्रमुख कक्षा कोठामै आएर केही जानकारी गराइदिँदा विद्यार्थी खुसी थिए ।

ढकालले लगत्तै कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई पढाउन पुग्नु भयो । उहाँले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका विषयमा झण्डै ४५ मिनेट विद्यार्थीलाई पढाउनुभयो । शुरुमा खासै प्रश्न गर्न नचाहेका विद्यार्थीहरुले विस्तारै उप–प्रमुखलाई पाठ्यक्रमभन्दा पनि अतिरक्त क्रियाकलापका लागि आवश्यक सहयोग गर्न अनुरोध गरे ।

स्थानीय सरकारले विद्यार्थीहरुका लागि थुप्रै सहयोग सक्ने भएकाले त्यसतर्फ ढकालको ध्यानाकृष्ट गरे । विद्यार्थीलाई नेतृत्व गर्न र विद्यालयका समस्याबारे जानकारी लिन विद्यार्थीसंग कक्षा काेठामा उप-प्रमुख कार्यक्रम शुरु गरेको ढकालले बताउनुभयो ।

सुन्नेभन्दा प्रत्यक्ष रुपमा कक्षा कोठामै पुगेर विद्यार्थीका समस्या बुझ्न र त्यसको समाधानका लागि कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो । विद्यार्थीहरुले पनि मौकामा विद्यालयमा पुस्तकालय, स्वच्छ खानेपानी, छात्रामैत्री संरचनाको व्यवस्थापन, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला निर्माणमा सहयोग गर्न अपिल गरे । जवाफमा ढकालले नगरपालिकाले नगरभित्रका विद्यालयहरुको विकास लागि सक्दो सहयोग गर्ने वचन दिनुभयो ।

वीरेन्द्ननगरका सामुदायिक विद्यालयमा महिनाको एक पटक कक्षा काेठामा उप-प्रमुख कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे । कक्षा १० का विद्यार्थीलाई कक्षा लिने र अरु कक्षाका भाइबहिनीसँग छलफल गर्ने पनि ढकालकाे भनाइ छ ।