सुर्खेत । शान्ति र सद्भावका लागि सप्तरंग यात्रा कार्यक्रम आज सुर्खेतमा हुने भएको छ । कार्यक्रममा महानायक राजेश हमालसहितका कलाकारको प्रस्तुति रहनेछ । पर्यटन वर्ष २०२० लाई प्रवद्र्घन गर्ने उद्देश्यसहित राष्ट्रिय कालाकारहरुको टोलीले सामाजिक विकास मन्त्रालय भन्दा दक्षिणतर्फ रहेको खुला मैदानमा प्रस्तुति राख्न लागेका हुन् ।
महानायक हमालसहित हाँस्यकलाकार जितु नेपाल, लोक गायक प्रकाश सपुत, गायिका मेलिना राई, सुगम पोख्रेल र नेपाल आइडलका विजेता रवि ओडले प्रस्तुति राख्ने छन् । महानायक हमालले यस क्षेत्रको कला संस्कृतिलाई आफूले यसअघि पनि पटक–पटक नियाल्ने मौका पाएको जानकारी दिए ।
फरक विषयमा सुर्खेत आएको बताउँदै हमालले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्घन गर्ने उद्देश्यले आएको जनाए । ‘सप्तरंग’ मार्फत् सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैल्याइरहेको रहेको गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गेहेन्द्र घिमिरेको भनाइ छ ।
कार्तिक २२ गते झापाको विर्तामोडबाट सुरु भएको सप्तरंग यात्रा महेन्द्रनगर हुँदै मंसिर ४ गते पोखरामा समापन गरिनेछ । गृष्मा ब्रोडकास्टीग नेपालको आयोजनामा काफिया मिडिया सेन्टर सुर्खेतले कार्यक्रमको संयोजन गरेको छ ।