सुशील खड्का
सुर्खेत । कर्णालीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त जग्गाको खोजी भइरहेको छ । केन्द्र सरकारको पहलमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रका लागि सुर्खेतमा जग्गाको खोजी भइरहेको हो । यसअघि स्थापना गर्ने भनिएको जग्गा उपयुक्त नभएपछि पुनः नयाँ ठाउँमा जग्गाको लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सुर्खेतको लेकवेशी नगरपालिका–९ चौरासेमा औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो । यसअघि लेकवेशी नगरपालिकामै पर्ने रानीचौतारी र खाँडदेवी सामुदायिक वनको जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको थियो । तर सुरुवातमा छनौट गरिएको स्थानमा भौगोलिक जटिलता देखिएकाले पुन: नयाँ ठाउँमा सम्भाव्यता गर्न लागिएकाे हाे ।
पछिल्लो पटक अध्ययन गर्न लागिएको चौरासेमा औद्योगिक क्षेत्रका लागि ६ प्लट जग्गा भेटिएको छ । अब त्यहीँ ठाउँमा सम्भाव्यता अध्ययन गर्न थालिएको हो । लेकवेशी नगरपालिकाको वडा नम्बर ९ को माथिल्लो तिल्खे, दमार, रानीचौतारी र रानीमत्ते तथा वडा नम्बर १० को पोखरीचौरमा रहेको जग्गामा सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।
यो जग्गा खाँणदेवी, पोखरीचौर र रानीचौतारी सामुदायिक वन क्षेत्रमा पर्दछ । सम्भाव्यता अध्ययन र वातावरण प्रभाव मुल्यांकनको काम चालु आर्थिक वर्षमै सक्नेगरी प्रक्रिया अघि बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।
‘लामो समय पहिलाको स्थानमा अध्ययन गर्दागर्दै खर्चियौं’ बस्नेतले भने, ‘त्यहाँ भौगोलिक विकटता र वनक्षेत्र धेरै भएकाले खर्च बढ्ने भयो, त्यसकारण त्यो ठाउँलाई छाडेर हामीले अब नयाँ ठाउँमा सम्भाव्यता अध्ययनको काम थाल्दैछौं ।’ चौरासेमा स्थलगत अनुगमनका क्रममा धेरै जग्गा फेला परिसकेको बस्नेतले उल्लेख गरे ।
लिमिटेडले योजना विभागबाट इन्जिनियर, अर्थविज्ञसहितको पाँच सदस्यीय टोली सुर्खेत पठाउन लागेको बस्नेतले जनाए । औद्योगिक क्षेत्रका लागि हाल अध्ययन गर्न लागिएको स्थानमा पर्याप्त पानीको स्रोत, सडक र विद्युतको सहज विस्तार गर्न सकिने क्षेत्र रहेको उनको दाबी छ । सम्भाव्यता अध्ययनको प्रतिवेदन सकारात्मक आए आगामी वर्षदेखी नै निर्माणको काम शुरु गरिने बस्नेतको भनाइ छ ।
गतवर्ष भौर्गभिक तथा सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयको प्राविधिक टोली सुर्खेत आएको थियो । तर औद्योगिक क्षेत्र निर्माणका लागि एक हजार विगाह जग्गाको खोजी गरिए पनि प्राविधिक टोलीले एक सय ५० विगाह मात्रै जग्गा भेटाएको थियो ।
त्यसबेला औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडावारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको थियो । तर त्यहाँ मैदानभन्दा भिरालो जमिन बढी रहेकाले नयाँ ठाउँमा औद्योगिक क्षेत्र बनाउन प्राविधिक टोलीले लिमिटेडलाई सुझाव दिएको थियो । सोही सुझावका आधारमा अब नयाँ स्थानमा अध्ययन गर्न लागिएको हो ।
सामुदायिक वन जग्गा दिन तयार
सुर्खेतमा प्रादेशीक औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन स्थानीय सामुदायिक वनहरु तयार भएका छन् । जिल्लामै औद्योगिक क्षेत्र स्थापना हुने भएपछि आफूहरु आवश्यक जग्गा दिन तयार रहेको उनीहरुको भनाइ छ । अहिले नयाँ ठाउँमा सम्भाव्यता अध्ययन गर्न लागिएको जग्गा सामुदायिक वनभित्र पर्दछ ।तर गत बैशाखमा नै लिमिटेडको टोली औद्योगिक क्षेत्रको प्रस्तावित जग्गाको स्थलगत अध्ययन गर्न आएको बेला नै सामुदायिक वनहरुले जग्गा उपलव्ध गराउने निर्णय गरिसकेका छन् । लेकवेशी नगरपालिकाका जनप्रतिनीधि, सामुदायिक वनका पदाधिकारी र स्थानीयबासीहरुले वनको जग्गा दिने निर्णय गरेको खाँणदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम छन्तेलले बताए । स्थानीय तवरबाट कुनै अवरोध नआउनेगरी बाटो खुला गरिदिएको छन्तेल बताए । ‘चौरासेमा औद्योगिक क्षेत्र निर्माण हुनु भनेकै यहाँको विकासको लागि हो’ छन्तेलले भने, ‘सकारात्मक रुपमा काम अघि बढाउन स्थानीय स्तरबाट रचनात्मक सहयोग गर्नेछौं ।’