☰ open Loading... 16 November 2024|  

सहिदका शालिक स्थापना गर्न माग
  | ४ मंसिर २०७६, बुधबार ११:१२

सुर्खेत । कर्णाली प्रदेश प्राप्तीका लागि भएको आन्दोलनमा मारिएका सहिदका परिवारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेका छन् । मुख्यमन्त्रीसँगको भेटमा उनीहरुले तत्काल सहिदका शालिक स्थापना गर्न माग गरे । मानिसहरुको चहलपहल हुने मुख्य चौकमा सहिदहरुको शालिक स्थापना गर्नुपर्ने उनीहरुको माग छ ।


प्रदेश सिमाकंनको बेलामा तत्कालिन मध्यपश्चिमका जिल्लाहरु सुदुरपश्चिममा गाभिएका थिए । त्यसैको विरोधमा चार वर्षअघि आन्दोलन भएको थियो । सोही आन्दोलनमा सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम, र गोपालसिंह रजवार र जुम्लामा हरिबहादुर कुँवर मारिएका थिए । उनीहरुलाई सरकारले सहिद घोषणा गरे पनि परिवारले शालिक निर्माणको माग गर्दै आएका छन् ।

सहिदका परिवारले मंगलवार मुख्यमन्त्रीलाई भेटेर चारै जना सहिदको शालिक स्थापना गर्न माग गरेका हुन् । सहिद यामबहादुर विसीका बहिनी भगवती विसीले तत्काल चारै जना सहिदको शालिक बनाएर मुख्य चौकमा राख्न प्रदेश सरकारसँग माग गरिएको बताइन् । प्रदेश सरकारले वीरेन्द्रनगरमा सहिद पार्क निर्माणको काम शुरु गरिसकेकाले अब शालिक स्थापनाको काम पनि अघि बढाइदिन अनुरोध गरिएको उनको भनाइ छ ।

यस्तै सहिद परिवारका सदस्यलाई परिचयपत्र र रोजगारीको व्यवस्था हुनुपर्ने, स्वास्थ्य उपचार निःशुल्क र प्रतिष्ठान स्थापना गर्नुपर्ने मुख्यमन्त्री समक्ष राखिएको विसीले जानकारी दिइन् । यस्तै कर्णाली प्रदेश घोषणा भएको दिनलाई सहिद दिवसको रुपमा मनाउन आग्रह पनि सहिद परिवारले गरेका छन् ।

मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तीमा सहिदले पु¥याएको योगदानको उच्च कदर गरिएको जनाए । उनले सहिदको सपना साकार पार्नका लागि केही योजना कार्यान्वयन गरिरहेको बताए ।