☰ open Loading... 17 November 2024|  

प्रहरीमा बिचमै जागिर छाड्नेको संख्या बढ्दो
  | १० मंसिर २०७६, मंगलवार १२:०६

सुशील खड्का
सुर्खेत । देशमा रोजगारीको अवसर थोरै छन् । त्यसमा पनि सरकारी जागिर भन्ने वित्तिकै युवाहरुको आकर्षण बढ्दो छ । विशेषगरी नेपाली सेना र प्रहरीमा जागिर खानका लागि दौडधूप गर्ने युवाहरुको संख्या उल्लेख्य नै छ । तर पछिल्ला दिनमा सकी नसकी प्रहरीमा जागिर खाएकाहरु नै धमाधम जागिर छाड्न थालेका छन् । कर्णाली प्रदेशमा मात्र वर्षमा डेढसय जना भन्दा बढी प्रहरीले जागिर छाड्ने गरेको पाइएको छ ।

फायल तस्वीर ।

कुनैबेला प्रहरी संगठन जागिरका लागि आकर्षक मानिन्थ्यो । तल्लो तहका पदमा भर्ना हुन चाहने युवाहरुको लहर नै हुन्थ्यो । स्थायी जागिर र पेन्सनको सुविधा भए पनि प्रहरीको जागिरबाट राजीनामा दिनेहरुको संख्या बढ्दो छ । दुख गरेर खाएको जागिर बिचमै छाडेर युवाहरु वर्षेनी प्रहरी संगठन छाड्न थालेका हुन् । जागिर स्थायी भए पनि न्यून तलव सुविधा, काम गर्ने समय धेरै हुनु र वैदेशीक रोजगारीको अवसरका कारण पनि युवाहरुले प्रहरीको जागिर बिचमै छाड्ने गरेका हुन् ।

प्रहरीमा एउटा जवान तयार पार्न राज्यको लाखौं रकम खर्च हुन्छ । त्यसरी तयार भएको जनशक्ति बिचमै जागिर छाडेर जाँदा पनि प्रहरी संगठनको नेतृत्वले यसबारे चासो लिएको देखिदैन । आर्थिक वर्ष ०७५–०७६ मा कर्णाली प्रदेशका १० जिल्लामा कार्यरत मध्ये एकसय १४ जना प्रहरीले जागिरबाट राजीनामा दिए ।

राजीनामा दिँदा घरायसी र शारिरिक अवस्था कमजोर भएको देखाए पनि सेवा र सुविधा कम भएकै कारण उनीहरुले जागिर छाडेको पाइएको हो । जागिर छाडेकाहरु धमाधम वैदेशिक रोजगारीमा गएका छन् भने केहीले स्वदेशमै व्यवसाय गरिरहेका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यो आर्थिक वर्षको सात महिनाभित्रमा ७० जनाले प्रहरीको जागिर छाडेका छन् । कार्यालयका अनुसार जागिरबाट राजीनामा दिनेहरुको संख्या बढ्दो छ । राजीनामा दिनेहरुमा पनि जवानको संख्या बढी रहेको प्रहरीले जनाएको छ ।

आकर्षक मानिएको प्रहरी संगठनमा काम गर्नेहरुले पारिवारिक समस्यालाई नै प्रमुख आधार बनाएर जागिर छाड्ने गरेको प्रहरी अधिकृत बताउँछन् । कामअनुसारको सेवा सुविधाले घर खर्च धान्नै नसक्ने अवस्था आएपछि नयाँ अवसर पहिचान गर्दा अन्तै राम्रो देखिएपछि बिचमै जागिर छाड्ने गरेको पूर्वप्रहरी अधिकारीहरुको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार एक जना प्रहरी जवान तयार पार्न राज्यको कम्तिमा पनि पाँच लाखसम्म खर्च हुन्छ । भर्ना, तालिम र अन्य व्यसायिक सीप सिकाउन राज्यले गरेको लगानीको प्रतिफल हात नलाग्दै बिचमै जागिर छाडेर जाँदा राज्यलाई घाटा भइरहेको छ । यसरी बिचमै जागिर छाडेपछि राज्यका लागि ठूलो नोक्सान भइरहेको पूर्वप्रहरी अधिकृतहरु बताउँछन् । बेलैमा यो समस्या समाधान गर्नका लागि राज्य र प्रहरीको नेतृत्वले गम्भिर बन्नुपर्ने उनीहरुको भनाइ छ ।

किन छाड्छन् जागिर ?
सुरुमा वेरोजगार हुँदा प्रहरी संगठनमा प्रवेश गर्छन् । तर अन्य सरकारी सेवाको तुलनामा प्रहरी सेवामा बढी समय दिनुपर्छ । दैनिक डीउटी गर्दा पनि त्यो बराबरको सेवा र सुविधा भने छैन । काम अनुसारको अत्तिरिक्त सुविधा नभएकै कारण प्रहरीभित्र तल्लो तहका कर्मचरीमा निराशा देखिन्छ ।

अर्कोतर्फ कामको सही मूल्याङ्कन नहुनु, कम तलव र सुविधा, कम्तीमा पनि दैनिक १८ घण्टासम्म खट्नुपर्ने बाध्यता, सरुवा भएपछि आफ्नै खर्चमा नयाँ ठाउँमा जानुपर्ने अवस्था र भत्ता नपाउने जस्ता कारणले प्रहरीभित्र जागिर छाड्नेहरुको संख्या बढ्दो छ । अर्कोतर्फ पहुँच र शक्तिको भरमा मात्र गरिने सरुवा बढुवाका कारण पनि बिचमै जागिर छाड्नेको संख्या बढेको हो ।

‘कर्णालीमा जवान र हवल्दार पद सम्ममा कार्यरतले जागिर छाड्ने गर्छन्’ हाल प्रहरीबाट विदा भइसकेका एक प्रहरी जवानले भने,‘एउटैले लामो समयसम्म गस्ती गर्नुपर्ने र काम गर्दा पनि हाकिमबाट बढी पेलानमा परेपछि जागिर छोडेको हुँ ।’ उनले जवान र हवलदारसम्मका लागि हालको तलवले परिवार पाल्नै सम्भव नभएको बताए । उनका अनुसार यहीकारण जागिर छाड्नेको संख्या बढेको हो ।

 

जागिर छोड्नै नपाइने न्युनतम अवधीबारे अध्ययन गर्नेछौं

विश्वराज पोखरेल, प्रवक्ता, नेपाल प्रहरी

जागिरमा रहने वा नरहने भन्ने नितान्त व्यक्तिगत विषय हो । कुनै पनि पेशा रोज्ने वा छाड्ने भन्ने संवैधानिक अधिकार पनि हो ।

सरकार र नेपाल प्रहरीले सुहलियत सेवा सुविधा बढाउने प्रयास गरिरहेकै छ । आफ्नो सामथ्र्यभन्दा माथि उठेरै सेवा सुविधा बढाउन कोशिस गरेकै छौं ।

प्रहरीमा भन्दा राम्रो अवसर पाएर वैदेशिक रोजगारी रोज्ने र परिवारसँगै जीवन विताउँछु भनेर सेवा छाड्छन् भने त उसको नै अधिकार हो । यसमा हामीले केही गर्न सक्दैनौं ।

तर पनि अब जागिर खाएपछि न्यूनतम छोड्न नपाइने अवधि तोक्न आवश्यक छ ।

कम्तिमा यति वर्षसम्म जागिरमा रहनैपर्छ भन्ने नियम बनाउनका लागि अब अध्ययनको विषय बनेको छ ।

एक जना प्रहरी उत्पादन गर्न ठूलै रकम खर्च हुन्छ । तालिम दिन खटिने जनशक्ति, उसले प्राप्त गर्ने सुविधा, हातहतियार, लत्ताकपडा, सञ्चय कोषमा थपिने रकम लागेको हेर्ने हो भने ठूलै रकम खर्च भइरहेको हुन्छ ।

जनशक्ति उत्पादन गर्नमा वर्ष दिन लाग्छ । तर छाड्ने छिनभरमै हो ।

यदी बिचमै जागिर छाड्ने क्रम यसरी नै बढ्यो भने हामी नयाँ सोचका साथ अगाडि बढ्नेछौं । प्रहरीमै टिकाइ राख्न नयाँ विकल्पमा पनि अब अध्ययन गर्ने छौं ।

तल्लो तहका कर्मचारीको तलव सुविधा बढाउनु पर्छ

रणबहादुर चन्द पूर्वएआईजी नेपाल प्रहरी

प्रहरीबाट जागिर छाड्नेलाई शुन्यमै ल्याउन सकिदैन । पारिवारिक समस्या, स्वतस्फूर्त छाड्नु, खटाइमा लामो समयसम्म रहनुले जागिर छाड्ने गर्दछन् । जागिर छाड्ने विविध कारण हुन्छन् । ठोस यही हो भन्न सकिदैन ।

अब प्रहरीलाई २४ सैं घण्टा खटाउनु भन्दा पनि प्रविधिको विकास गरेर काममा सहजता ल्याउन जरुरी छ । व्यक्तिगत रुपमा समय मिलाउन प्रहरीलाई प्रविधिले सहयोग पु¥याउने माध्यम राख्नुपर्छ । अब अपराध न्यूनिकरणमा जनसहभागिता बढाउनु पर्दछ ।

सरकारले पनि देश भित्रको शान्ति सुरक्षामा खटिने प्रहरीलाई अन्य क्षेत्रभन्दा बढी सकारात्मक बन्नु आवश्यक छ । जागिर छाड्नेहरुको संख्या बढ्दै जानु राम्रो होइन । जागिरमा टिकाइ राख्नका लागि बाहिरकोभन्दा बढी सेवा र सुविधामा बढाउनु जरुरी छ ।

डीउटी गर्ने, खट्ने, पट्रोलिङमा जाने ग्राउण्ड लेवलको भार त जवानहरुमै बढी छ । त्यसैले प्रहरीमा टिकाइ राख्न अब तल्लो तहका कर्मचारीको तलव सुविधा बढाउनु पर्छ । काम गर्ने ठाउँमा उनीहरुलाई उत्प्रेरणा जगाउने खालका तालिम र प्रोत्साहन आवश्यक छन् । (युगअाह्वान दैनिकबाट)