☰ open Loading... 16 November 2024|  

सफल सामाजिक उद्यमीका कर्मचारी र शेयर सदस्य सम्मानित
  | १० मंसिर २०७६, मंगलवार १८:०१

सुर्खेत । भेरीगंगा नगरपालिका ९ मा रहेको सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले कर्मचारी तथा शेयर सदस्यहरुलाई सम्मानित गरेको छ । संस्थाको पाँचौ वार्षिक साधारण सभामा संस्थाको हितका लागि काम गर्ने उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यहरुलाई सम्मानित गरेको हो ।


सम्मानित हुनेमा यस बर्ष सहकारी सदस्यहरुबाट धेरै खसी बिक्री गर्ने चार जना, सहकारी सुपथ मुल्य पसलबाट नियमित र धेरै कारोबार गर्ने चार जना, सहकारीमार्फत तरकारी बिक्रि गर्ने तीन जना, सहकारीमार्फत दुध बिक्रि गर्ने तीन जनालाई सम्मानित गरेको छ । यस्तै, नियमित बचतकर्ता र उत्कृष्ट कर्जा कारोवार गर्ने एक/एक जनालाई सम्मानित गरेको हो ।

साधारण सभामा सहकारीका अध्यक्ष निलम बि.क ले सहकारीको प्रगति प्रतिबेदन पेश गरेकी थिइन् । यस्तै, कोषाध्यक्ष बिन्दु डाङ्गीले आर्थिक बर्ष २०७५÷०७६ सालको एक करोड ३८ लाख ६५ हजार २ सय ९६ रुपैया बराबरको आय ब्यय प्रतिबेदन सार्वजनिक गरेकी थिइन् ।

सभामा बोल्दै भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले सहकारीको माध्यमबाट समाजको आर्थिक रुपान्तरण गर्न सम्भव रहेको बताए । महिलाहरु ब्यवहारमा इमान्दार र आफ्नो काममा प्रतिबद्ध हुने भएको कारण महिलाहरुले गठन गरेको सहकारीले आफ्नो उद्देश्य पुरा गर्ने र समाज बिकासमा महत्वपूर्ण भुमिका भएकाले स्थानिय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश बचत संघको अध्यक्ष यज्ञ प्रसाद ढकालले देश विकासका लागि सहकारी महत्वपूर्ण क्षेत्र भएको बताए ।

सरकारले लिएको ३ खम्बे अर्थ निति मध्य पनि सहकारी अझै महत्वपूर्ण भएको उल्लेख गरे । महिलाहरुले संचालन गरेको सहकारीले सहकारीको उद्देश्य अनुसारको काम गरेकोमा ढकालले प्रशंसा गरेका थिए ।

हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्माले हेफरले महिलाहरुको क्षमता अभिबृद्धि गर्दै सहकारीको माध्यमबाट समाजको आर्थिक रुपान्तरणका कामहरुमा टेवा पुर्याएको बताए ।

सुन्दर नेपाल संस्थाका परियोजना संयोजक पदमबहादुर दलामी, भेरीगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पदम खत्री, वडा नं.९ का वडा सदस्य गोपाल ददेल, प्राइम बहुउद्देश्यीय सहकारी संस्था जहरे शाखाका संयोजक गणेश प्रशाद शर्मा लगायको उपस्थिति थियो ।