☰ open Loading... 15 November 2024|  

सुकेको बराहतालमा पानी फर्काउन स्थानीय बलि दिँदै, सरकार योजना बनाउँदै
  | ३ पुष २०७६, बिहीबार १०:१३

सुशील खड्का
सुर्खेत । सुर्खेतमा रहेको सबैभन्दा ठूलो बराहतालमा पानी सुकेको छ । एकाएक तालमा रहेको पानी सुकेपछि स्थानीयहरु दंग परेका छन् । त्यतिमात्र होइन, टन्न पानी हुने तालमा अहिले घाँस उम्रिएको छ । यही तालबाट गाउँपालिकाको नाम नै बराहताल राखिएको थियो । तर ताल अहिले गौचरणमा परिणत भएपछि स्थानीय चिन्तित बनेका हुन् ।


यही ताललाई प्रवर्दन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना बुनेका गाउँपालिकाका जनप्रतिनीधि पनि चिन्तित छन् । प्रमुख पर्यटकिय गन्तव्यको विकास गर्ने रणनीति बनाइरहेको गाउँपालिकाले ताल नै सुकेपछि यसको अस्तित्व जोगाइदिन यतिवेला हारगुहार नै गरिरहेको छ । प्रदेश राजधानी वीरेन्द्रगरबाट पश्चिमतर्फ झण्डै ३० किलोमिटरको दुरीमा रहेको ताल सुकेपछि स्थानीय र प्रदेश सरकारको नै ध्यान केन्द्रित भएको छ ।

चूरे क्षेत्रकोे संरक्षणमा राष्ट्रपति कार्यक्रम लामो समयदेखि सञ्चालनमा छ । तर त्यो कार्यक्रम प्रभावकारी नहुँदा झण्डै १६ विगाह क्षेत्रफलमा फैलिएको तालमा पानी नै छैन । ताल क्षेत्रमा अहिले झार मात्रै उम्रिएको छ । कुनैवेला तालमा आउने आगुन्तक चराले तालमा पर्ने पातहरु नै टिपेर सफा गर्दथे ।

विच जंगलमा रहेको ताल कहिल्यै फोहोर हुन्थेन । बराहताल गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर कठायतलले भने, ‘सिङ्गो गाउँपालिका चिनाउने तालमा अहिले एक थोपा पानी छैन, अब यसलाई कसरी बचाउने भन्ने पहलमै जुटेको छौं ।’

२०७२ सालमा आएको भुकम्पछि ताल वरिपरि रहेका पानीका स्रोतहरु सुकेको उनको भनाइ छ । उनकाअनुसार तालमा प्वाँख नभएका हाँसहरु देखिन्थे । तालमा मुख्यगरी सेतो, खैरो, रातो हाँससहित अन्य प्रजातिका चराहरुको बाहुल्यता थियो । तर यतिवेला यहीँ तालमा पानी छैन ।

बराहताल सुकेको सुइको पाएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव केवल भण्डारीसहितको ५५ सदस्यीय जम्बो टोली तालमा पुगेर फर्किएको छ । तालको वास्तविक अध्ययनभन्दा तत्कालिन अवस्था बुझ्न भण्डारीले जम्बो टोली लिएर तालमा पुगेका थिए ।

तालमा पानी नै नभएपछि अचम्मित हुँदै विशेष योजना बनाउने आश्वासन दिँदै भण्डारीको टोली फर्किएको थियो । जिल्लाकै ठूलो र पर्यटकलाई लोभ्याउने ताल सुकेपछि चिन्ताको विषय बनेको छ । स्थानीयले ताल सुक्नुमा धार्मिक कारण भने पनि प्राविधिकहरुले यसको अध्ययन गरिरहेका छन् । अब यो तालमा पहिलाको जस्तै पानी भरिन्छ वा लोप हुन्छ भन्ने प्रश्नको उत्तर आउन बाँकी नै छ । तर स्थानीयले भने कुनै पनि हालतमा तालमा पानी पहिलाकै अवस्थामा फर्काइदिन हारगुहार गरिरहेका छन् ।

पञ्चवर्षिय योजना बनाउने तयारी

शिवराम अधिकारी, प्रमुख वन तथा वातावरण निर्देशनालय सुर्खेत

जिल्लाकै चर्चित ताल एकाएक सुकेपछि वन तथा वातावरण निर्देशानलयले प्राविधिक टोली नै खटाएको छ । ताल सुक्नुको कारण र त्यसलाई पहिलेकै अवस्थामा फर्काउने विषयको अध्ययन गर्न प्राविधिक टोली परिचालन गरिएको हो । टोलीले बुझाएको रिपोर्टका आधारमा पहिलेकै अवस्थामा ताललाई तत्काल कसरी फर्काउने भन्ने योजना बनाइने निर्देशनालयका प्रमुख शिवराम अधिकारीले बताए ।

‘स्थलगत अध्ययनका क्रममा तालमा पानीको अवस्था पहिलेकै अवस्थामा फर्काउन टोलीले अध्ययन गरिरहेको छ’ अधिकारीले भने, ‘टोलीले दिएको प्रतिवेदनका आधारमा निर्देशनालयले थप कार्य अघि बढाउने छ ।’

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत ४० लाख र डिभिजन वन कार्यालयको १० लाख बजेट विनियोजन गरेकाे छ । तालको एकिन योजना नबन्दासम्म दुवै निकायबाट विनियोजित बजेट हचुवाको भरमा खर्च नगर्ने अधिकारी बताउँछन् ।

‘पञ्चवर्षिय योजनाविना बजेट खर्च अर्थहिन हुने देखेका छौं’ अधिकारी भन्छन्, ‘क्रमागत रुपमा विस्तारै ताललाई पहिलेकै स्वरुपमा फर्काउने गुरुयोजना बनाएर अघि बढ्न आवश्यक छ ।’ अध्ययन प्रतिवेदनका आधारमा ताललाई पहिलेकै स्वरुपमा फर्काउन पञ्चवर्षिय योजना बनाएर कार्यक्रम सञ्चालन गर्ने अधिकारीले बताए ।

अध्ययन गरेर फर्किएको प्राविधिक टोली के भन्छ ?

प्राविधिकको टोली बराहतालमै पुगेर स्थलगत अध्ययनपछि वीरेन्द्रनगर फर्किएको छ । अध्ययन टोलीमा हाइड्रोलोजिष्ट माधव रिजाल, सिभिल इन्जिनियर सरोज दवाडी, कृषि इन्जिनियर सुयोक राई लगायत थिए । टोलीले ताल क्षेत्र र वरिपरिको भौगोलिक अवस्थाको अध्ययन गरेको छ । तालमा पानीको मुख्य स्रोत नभेटिएको कृषि इन्जिनियर सुयोक राईले जानकारी दिए ।

शुरुकै अवस्थामा ताललाई फर्काउन जमिनमूनि पानीको अवस्था र बाहिरबाट स्रोत थप गर्ने विषयमा अध्ययन गरिएको प्राविधिक टोलीले जनाएको छ । ‘तालको छेउमा वर्षातमा बाढी आउने खहरे खोलाबाहेक अन्य भूमिगत पानीको मुहान देखिदैन’ राईले भने, ‘ताललाई कसरी पहिलाकै अवस्थामा फर्काउन सकिन्छ भन्ने सुझाव सहितको प्रतिवदेन १५ दिनभित्र बुझाउने छौं ।’

टोलीकाअनुसार तालमा पानीको मुहान नै नभएकाले अब डीपवोरिङ्ग गरेर पानी भर्ने विकल्प हुनसक्छ । यस्तै भूमिगत पानी नआए अर्को विकल्प लिफ्ट प्रविधि नै रहेको राईले बताए । प्राविधिक टोलीले ताललाई सदाबहार बनाउन अब तालको क्षेत्रफल बढाउने र त्यही खालको संरचना विस्तार गर्न आवश्यक रहेको जनाएको छ ।

ताल सुक्दा गाउँपालिकाकै नाममा प्रश्न उठ्न थाल्यो

तेजबहादुर बस्नेत, अध्यक्ष, बराहताल गाउँपालिका

हामीले यही तालको नामबाटै गाउँपालिकाको नाम राखेका छौं । यो तालको आफ्नै इतिहास छ । तर अहिले एकाएक ताल नै सुक्यो । जुन तालको नामबाट सिंगो गाउँपालिकाको नाम राखेका थियौं, त्यही ताल सुकेपछि गाउँपालिकाको नाम नै सान्दर्भिक नहुने हो की भन्ने चिन्ता जागेको छ ।

मान्छेहरुले अहिल्यै ताल नै नरहेपछि गाउँपालिका नाममा नै प्रश्न उठाउन थालेका छन् । गाउँपालिकाको प्रतिनिधित्व गर्ने र पहिचान बोकेको चर्चित ताल सुकेपछि हामी पनि चिन्तित भएका छौं । ताल क्षेत्रमा बाह्य पर्यटकहरु भित्र्याउने उदेश्यले २०७४ चैतमा महोत्सव सञ्चालन गरेका थियौं ।

ताल सुकेपछि गाउँपालिकाले त्यसको दिर्घकालिन विकास लागि पहल शुरु गरेको छ । हालसम्म तालको लागि बजेट विनियोजन गनरे पनि प्रदेश सरकारलाई पहिलेकै अवस्थामा तालको स्वरुप ल्याउन अपिल गरेका छौं ।

गाउँपालिकाले पनि तालको संरक्षणका लागि विशेष योजना बनाएर अघि बढ्दैछौं । कुनै पनि हालतमा यो ताललाई पहिलाकै अवस्थामा फर्काउनु पर्दछ । हामी यसमा लाग्नेछौं ।

तालमा पानी निकाल्न वली चढाइने !

यसअघि २०५६ सालमा बराहतालको पानी पहिलो पटक सुकेको थियो । हिउँदकै समयमै ताल सुकेपछि तालमा सर्प, कछुवा र सर्प आकारका माछाहरु देखिएको स्थानीयहरु बताउँछन् । त्यसपछि पूर्वप्रधानपञ्च नरबहादुर शाहीले त्यहाँ बराह देवताको मन्दिर स्थापना गरे । मन्दिर स्थापना भएको केही समयपछि तालमा पानी जम्मा भएको स्थानीय बताउँछन् ।

‘ताल हेर्न पुगेकाहरु मन्दिरमा दर्शन गरेर फर्किन्थे’ बराहताल गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर कठायतले भने, ‘पहिला हरेक नयाँ वर्षमा मन्दिरमा मेला लाग्थ्यो, तर विस्तारै त्यो पनि हरायो ।’ तरङ्गामा सातसय घरधुरी बसोबास छ । ताल सुकेपछि वडाहुँदै गाउँपालिकाका अध्यक्षलाई स्थानीयले तालमा पूजा गर्न र वली चढाउन दवाव दिएका छन् ।

‘देउता रिसाएरै तालको पानी सुकेको स्थानीयको भनाइ छ, तत्काल धार्मीक पूजा गर्न स्थानीयले दवाव दिइ राख्नुभएको छ’ वडाध्यक्ष कठायतले भने, ‘अब आउँदो बैशाखमा तालमा रहेको मन्दिरको मर्मतसँगै पूजा गर्ने तयारी गरेका छौं, स्थानीयले कालो बोका वली चडाउने तयारी गरेका छन् ।’ वली चढाएर पूजा गरेमा तालमा आफै पानी जम्मा हुने स्थानीयको दाबी छ ।