सुशील खड्का
सुर्खेत । सुख्खायममा खानीपानीको संकट झेल्दै आएका वीरन्द्रनबासीलाई भेरी नदीको पानी ल्याउने गृहकार्य शुरु गरिएको छ । भेरी नदीबाट तीन महिनामै उपत्यका ल्याउने गरी संरचना निर्माणको प्रक्रिया शुरु गरिएको हो ।
भेरी नदीमा सोमबारदेखी सम्पवेल टेस्ट (जमिनमूनी संरचना निर्माण गरेर पानी संकलन गर्ने) निर्माण काम शुरु गरिएको छ । यो कार्य माघ दोस्रो हप्तासम्म सम्पन्न हुनेछ ।
पहिलो सम्पवेल निर्माण सम्पन्न भएपछि कति पानी जम्मा हुन्छ भन्ने निक्र्यौल निस्कनेछ । पानीको गुणस्तर मापन, पम्पिङ्ग गर्न सकिने पानीको मात्रा र गहिराइको अवस्था पत्ता लाग्ने भएकाले सम्पवेलको काम अघि बढाइएको सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारीले बताउँछन् ।
सम्पवेलको चौडाई २० मिटर र लम्बाई झण्डै १० मिटरको हुनेछ । सम्पवेल निर्माण भएपछि कम्तिमा ५० देखी ७५ लिटर प्रतिसेकेण्ड पानी जम्मा हुनेछ । कम्तीमा ५० लिटर प्रतिसेकेण्ड पानी सम्पवेलमा जम्मा हुने अपेक्षा छ तिवारीको छ ।
पहिलो सम्पवेलको पानी उपत्यका आगामी बैशाखसम्म लैजाने गरी गृहकारी भइरहेको छ । पहिलो सम्पवेलमा कति पानी जम्मा हुन्छ त्यहीँ आधारमा थप सम्पवेल निर्माण हुने तिवारीका भनाई छ । सम्पवेलको संरचनामा निर्माणमा आरसीसी ढलान गरिने छ ।
६ किलोमिटर दुरीमा रहेको अमृतडाँडामा पाइप विस्तार गरेर एकसय हर्सपावरको मोटरमार्फत भेरी नदीबाट पानी पम्पीङ्ग गरिनेछ । ३९० लिटर प्रतिसकेण्ड पानी सुर्खेत उपत्यका ल्याउने उदेश्यले वृहत भेरी नदी पम्पीङ्ग आयोजना अघि बढाइको हो । यो आयोजनाका लागि संघीय खानेपानी विभागले चार करोड बजेट विनियोजन गरेको छ ।
दैनिक ८२ लाख लिटर खानेपानी अपुग
सुर्खेत उपत्यका खानेपानी संस्थाले हाल झुप्रा मुहानसहित खरी–बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुले तालको पानी आपूर्ति गर्दै आएको छ । हाल उपत्यकामा प्रतिदिन एक करोड ४५ लाख लिटर खानेपानी आवश्यक पर्दछ ।
औषतमा हिउँदको समयमा एक करोड ३५ लाख लिटर र सुख्खा खडेरीमा न्यूनतम औषत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको छ ।
सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । दुईवर्ष अघिदेखि झण्डै पाँच हजार उपभोक्ताले धारा जडानका लागि आवेदन दिए पनि संस्थाले जडान गर्न सकेको छैन ।
विद्युत विस्तारमा मुख्यमन्त्रीको पहल
भेरी नदीको पानी सुर्खेत उपत्यका ल्याउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विशेष पहल गर्ने वचन दिएका छन् । सम्पवेल टेस्टस्थल पुगेका मुख्यमन्त्रीले भेरी नदीसम्म विद्युत विस्तार गर्न पहल गर्ने बताएका छन् ।
‘आगामी बैशाखसम्म एउटा सम्पवेलको पानी सुर्खेत उपत्यका लैजानेगरी काम गर्नुहोस्’ मुख्यमन्त्रीको भनाई उद्वृत गर्दै संस्थाका इन्जिनियर बालाराम तिवारीले भने, ‘६ किलोमिटरसम्मको विद्युत विस्तार तत्काल गर्न र पाइप लाइन विछ्याउने प्रक्रिया अघि बढाउन मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ ।’