डोल्पा : डोल्पामा पहिलो पटक तुइन तारेर सरकारी गाडी भित्र्याइएको छ। कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी गाडी (बोलेरो जीप) भित्र्याएको हो।
कार्यालयले २७ लाखमा खरिद गरेर उक्त गाडी डोल्पा पुर्याएको हो। सुर्खेतबाट तल्लु, खदाङ, त्रिपुराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाले जानकारी दिए। जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार गरेर झण्डै दुई लाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए। डोल्पामा सडक जोडिएपछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफ्नै गाडी ल्याएको हो।
उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन्। यद्यपि, डोल्पाका सरकारी कार्यालयले खरिद गरेका गाडी मोटरसाइकल भने जिल्ला नपुर्याएर अहिले पनि नेपालगञ्ज, सुर्खेतलगायतका सहरमा चलिरहेको पाइन्छ। अघिल्लो मंसिरमा औपचारिक रूपमा डोल्पामा सडक जोडिएको घोषणा गरेको सरकारले बीचबीचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ। जाजरकोटदेखि डोल्पाको दुनैसम्म आउन गाडीमा कम्तीमा पनि ५ ठाउँमा पल्टी गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउछन्।