☰ open Loading... 26 April 2024|  

ग्यास उद्योग सञ्चालनमा नआउँदै विवादमा
  | २९ पुष २०७६, मंगलवार ११:२०

सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक स्थापना भएको ग्यास उद्योग सञ्चालनमा नआउँदै विवाद उत्पन्न भएको छ । प्रदेशको माग र आवाश्यकताको आधारमा सुर्खेतको भेरीगंगा नगरपालिका–४ दमार (छिन्चु)मा स्थापना भएको बर्षा ग्याँस उद्योग तत्काल सञ्चालन ल्याउने तयारी भएको हो । उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचना समेत निर्माण भएका छन् । तर स्थानीयले उद्योग सञ्चालन प्रक्रिया गलत भएको भन्दै विरोध जनाए छन् ।

खेतियोग्य जमिन र मानव बस्ती नजिकै ग्यास उद्योग सञ्चालन गर्न नपाइने भन्दै स्थानीयले विरोध जनाएका हुन् । तर उद्योग सञ्चालक समितिले कुनै पनि प्रक्रिया गलत नभएको भन्दै जसरी पनि ग्यास उद्योग सञ्चालन गरीने बताएको छ । उद्योग सञ्चालनका लागि स्थानीय गोरखबहादुर खत्री, बखत भण्डारी, टेकबहादुर भण्डारी, विरबहादुर रावत र गोविन्द गौतमले २५ करोड बढि लगानी गरेका छन् ।

स्थानीयको विरोधपछि भेरीगंगा नगरपालिकाले तत्काललाई उद्योग सञ्चालनको काम रोक्न निर्देशन दिएको छ । उद्योग सञ्चालक विरबहादुर रावतले ग्यास उद्योग स्थापनाका लागि सबै कानुनी प्रक्रिया पुरा गरेकोले कुनै पनि हालतमा उद्योग बन्द नहुने बताए ।

‘समाजमा राम्रो काम गर्न नदिनेहरुले विरोध गरेर स्थानीयलाइ भट्काउन खोजेका हुन्, हामि जसरी पनि उद्योग सञ्चालन गरेर सेवाग्राहीको मन जित्छौ’ उनले भने, ‘उद्याेग सिल्यान्यास गर्दा विरोध नगर्नेहरु नै उद्योग सञ्चालनमा आउन लाग्दा विरोध जनाउँछन्, कर्णाली प्रदेशमै नमुना काम गरेकोमा धन्यबाद दिनुको सट्टा विरोध गर्नु हास्यास्पद बिषय हो ।’

उनकानुसार उद्योग स्थापनाका लागि १५ दिने र ३५ दिने सुचना जारी गर्नुका साथै वनविभाग लगाएत सम्बन्धित सबै निकायको सिफारीस अनुमति लिइएको छ । भारतबाट ग्याँस ल्याएर छिन्छुमै ग्याँस सिलिण्डर भरी हाल बजारको भन्दा झण्डै एक सय रुपैया सस्तोमा ग्याँस बेच्ने तयारी भएको उनले बताए । उद्योग सञ्चालनपछि धेरै जनाले रोजगारी समेत पाउँछन् । तर सञ्चालनमा आउनु अघि स्थानीयबाटै विरोध भएपछि सञ्चालक समितिलाई समस्या भएको छ ।

‘स्थानीयलाई झुक्काएर ग्याँस उद्योग सञ्चालन गर्न खोजिएको छ’ स्थानीय भुपेन्द्र देवकोटाले भने, ‘शक्ति र पहुँचको भरमा स्थानीयलाई झुक्काएर मिल्दैन ।’ उद्योग स्थापनाका लागि न्युनतम मापदण्ड पुरा नभएको अर्का स्थानीय श्यामलाल ढकालले बताए ।

नगरपालिका प्रमुख भुपेन्द्रबहादुर चन्दले स्थानीयको आन्दोलनले अप्रिय घटना नहोस् भनेर सञ्चालक समितिलाई तत्कालका लागि काम रोक्न निर्देशन दिएको बताए । ‘उद्योग सञ्चालनका लागि कानुनी प्रक्रिया पुरा गरेको देखिन्छ’ उनले भने, ‘तर स्थानीयलाई जानकारी नै नदिई लुकिछिपी काम गरेको जस्तो देखिएपछि स्थानीयले शंका गरेका छन् ।’

नगरपालिकाले पहिले उद्योग निर्माण गर्ने अनुमति दिएपनि पछि काम रोक्न आदेश दिएपछि विवाद झनै चुलिएको हो । स्थानीयले उद्योगको आसपासमा घना बस्ती, खेतीयोग्य जमिन र वनजंगल भएकाले असर पर्ने तर्क गरेका छन् । भने सञ्चालक समितिले ग्याँस उत्पादन नभई सिलिण्डर मात्रै भर्ने काम हुने भएकाले कुनै पनि असर नपर्ने दावी गरेको छ ।