☰ open Loading... 17 November 2024|  

देशभरकै सर्वाधिक वर्षा सुर्खेतमा, भोली आकाश खुल्ने प्रक्षेपण
  | ३ माघ २०७६, शुक्रबार १९:३८

सुशील खड्का
सुर्खेत । पश्चिमी वायुका कारण सुर्खेतमा सर्वाधिक वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा ६० मिलिमिटर वर्षा भएको छ ।

काठमाडौंमा ४८, लुम्लेमा ४५.५, भैरहवामा ४१.३, धनगढीमा ३८.९, पोखरामा २६.६, सिमरामा २३.२, डडेलधुरामा २२.८ मिलिमिटर वर्षा भएको छ । यस्तै, दिपायलमा १९.८, दाङमा २०.८, ओखलढुंगामा १५.६ र नेपालगञ्जमा १०.२ मिलिटिर वर्षा भएको छ ।

वर्षाका कारण कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा अत्यधिक चिसो बढेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

उनकाअनुसार सुर्खेतका अधिकतम तापक्रम १३.२ र न्युनतम तापक्रम ११.७ डीग्री सेल्सीयस छ । जुम्लामा १७ मिलिमिटर वर्षा भएको छ । जुम्लाको अधिकत तापक्रम ३.४ र न्युनतम तापक्रम शुन्य दशमलव ६ डिग्री सेल्सीयस छ ।

पश्चिमी न्युन चापीय प्रणालीका कारण देशभर यसको प्रभाव रहेको कार्यालयले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको भइरहेको पनि पराजुलीले बताए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा चिसोबाट बच्नु हुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।