☰ open Loading... 1 May 2024|  

मगर संग्राहालयको शिलान्यास
  | १ माघ २०७६, बुधबार १५:२६

‘आयातित संस्कृतिले भाषा संस्कृतिको जोगाउनै चुनौति’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा संस्कृति एवं विभिन्न जातजातिका भेषभुषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन् ।

नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर– ९ मा निर्माण हुने मगर सांस्कृतिक संग्राहालयको शिलान्यास गर्दै उनले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको भेषभुषाको प्रयोग गर्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री शाहीले मुलुकको सामाजिक÷राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताए । राजनीतिक आन्दोलन समाप्त भएको भन्दै उहाँले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

‘मगर संस्कृतिको रक्षा अरु कुनै जाति र समुदायले गर्दैनन्, तपाइँहरु आफैले गर्ने हो, मगर भाषा लोप हुन थालेको छ,’ उनले भने, ‘भाषा लिपि तयार गर्नुस्, छोराछोरीलाई पढाउनुस्, आफ्नो भाषाप्रति गौरव गर्नुस् ।’

बजेट अभावकै कारण संग्राहालय निर्माणमा अवरोध नहुने उनको भनाई छ । ‘बहुउद्देश्यीय प्रकृतिको दीर्घकालिन संरचना बनाउनुस्, प्रदेश सरकारले बजेट अभाव हुन दिदैन्,’ मुख्यमन्त्री शाहीले भने ।

मगर सङ्घका संस्थापक अध्यक्ष अनरी क्याप्टेन जहरसिंह थापाले निःशुल्क दान गर्नुभएको दुई कट्ठा जग्गामा तीन करोड, ६८ लाख, ६८ हजार लागतमा संग्राहालय निर्माण शुरु भएको छ ।

निर्माण समितिका संयोजक आशुराम सोमैमगरले प्रदेश सरकारले रु. ७५ लाख, सुर्खेत–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले रु. १० लाख र मगर समुदायबाट चन्दा सहयोग गरी करिब रु. १ करोड ५० लाख सङ्कलन भएको बताए ।

विद्युतीय भ¥याङसहितको पाँच तले भवनमा प्रादेशिक मगर संग्राहालय, पार्टी प्यालेस, पुस्तकालय, मगर संघको प्रशासनिक भवन, सङ्घ अन्तर्गतका भातृ संस्थाका कार्यालय, बुद्ध पुजा कक्ष र सभाहल रहनेछन् । भवन परिसरमा जग्गा दाता जहरसिंह थापाको अर्धकदको प्रतिमा राखिनेछ ।