☰ open Loading... 16 November 2024|  

लाइसेन्स लिन नेपालगञ्ज धाउनु पर्ने बाध्यताकाे अन्त्य
  | ५ माघ २०७६, आईतवार २०:२५

सवारी लाइसेन्स अब सुर्खेतबाटै

सुशील खड्का
सुर्खेत । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुर्खेतबाटै गर्न लागिएको छ । यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्न अनुमति दिएपछि आइतबारदेखी फर्म खुला गरिएको हो ।


यसअघि नयाँ सवारी चालक अनुमति पत्र लिन नेपालगञ्ज धाउनु पर्ने बाध्यता थियो । प्रदेश सरकार गठन भएको झण्डै दुइवर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो ।

विभागले आइतबारदेखी नयाँ लाइसेन्सका लागि खुला गरेको फर्ममा यातायात व्यवस्था कार्यालय सुर्खेत उल्लेख गरेको छ । सुर्खेतबाटै लाइसेन्स वितरण हुनेभएपछि सय बढीले अनलाइनमार्फत फर्म भरेर परीक्षा कहाँ हुन्छ भनेर सोध्ने गरेकोे कार्यालय स्रोतले जानकारी दिएको छ ।

तर यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले भने सिस्टमा देखाएपनि तयारीमै आफूहरु जुटेको बताए । ‘विभागले जारी गरेको लाइसेन्स वितरण फर्ममा सुर्खेत देखाएको छ’ चपाईले भने, ‘कार्यालयमा केही व्यवस्थापन गर्ने क्रममा चलिरहेकाले यसबारे थप अहिले नै भन्न मिल्दैन् ।’

सोमबार मात्रैनयाँ लाइसेन्स वितरण बारे कार्यालयले जानकारी दिने चपाईको भनाई छ । प्राविधिकतर्फका कर्मचारी नहुँदा समयमै नयाँ लाइसेन्स वितरण गर्न नसकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताउँदै आएको थियो ।

मन्त्रालयले सेवा करारमा प्राविधिकतर्फका कर्मचारी छनोट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरणको काम अघि बढाइएको हो ।