☰ open Loading... 27 April 2024|  

ट्रकले ठक्कर दिँदा ट्याक्टर चालककाे मृत्यु
  | १७ माघ २०७६, शुक्रबार १४:३२

सुर्खेत । वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै शुक्रबार बिहान ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक जाजरकोटको चुनीचाँदे गाउँपालिका-७ का ३४ वर्षीय प्रेम कार्की रहेका छन् ।

सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए ।

ट्रकको ठक्करपछि उद्धार गरी अस्पताल पुर्‍याइए पनि कार्कीलाई चिकित्सकले मृत घोषणा गरेको सिजापतिकाे भनाइ छ । दुर्घटनामा थप एकजना घाइते छन् ।

ट्याक्टर चालकको मृत्यु भएपछि आफन्तले पिपिरा चोकमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् । यसअघि मंगलबार वीरेन्द्रनगरमा टिपरको ठक्करबाट कालीकोटको युवकको मृत्यु भएपछि तीन दिनसम्म वीरेन्द्रनगर अशान्त बनेको थियो । अर्को दुर्घटना भएपछि पुन: वीरेन्द्रनगरमा आन्दोलन सुरु भएको छ ।